Tuesday, October 1, 2024

जुगल हिमाल आरोहण खुला

काठमाडौं– सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ।

काठमाडौँबाट १ सय ४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ जाने पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो । आरोहण खुला गरिएसँगै जुगल हिमशृङ्खला ग्याल्जेन चुली प्रथम आरोहण तथा अध्ययन गर्न आरोही आधारशिविरतर्फ जाने भएका हुन् । जुगल हिमाल समुद्री सतहबाट छ हजार १५१ मिटर उचाइमा छ ।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाको कार्यालयले संयुक्तरुपमा आरोहण तथा अध्ययनका लागि सहयोग गर्ने जनाइएको छ । एउटा आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङ र अर्को माधव सापकोटाले नेतृत्व गर्नेछन्।

ग्याल्जेन चुली आरोहण तथा अध्ययनका लागि प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले चुली आरोहण गर्न सिन्धु पर्यटन परिषद्लाई ४० लाख अनुदान सहयोग गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नं ३ को आर्थिक समृद्धिसँग जोडिएको काठमाडौँबाट नजिको ‘पिक’ प्रचारप्रसार भएमा पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

हालसम्म औपचारिकरुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाका ११ वटा मध्येको एक रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

यससँगै अब आरोहणका लागि ४१५ हिमाल भएका छन् । अझै एक हजार ३०० भन्दा बढी हिमाल आरोहणका लागि योग्य रहेको बताइन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार