Tuesday, October 1, 2024

२२ वर्षदेखि अर्गानिक तरकारी बेच्न घरघर पुग्छन् टीकाराम, मासिक ३० हजार खुद आम्दानी

बलेवा– बागलुङको जैमिनी नगरपालिका–२ दमेकका टीकाराम सापकोटाले प्राङ्गारिक (अर्गानिक) तरकारी खेती गर्न थालेको २२ वर्ष भयो। स्थानीय बजारमा उनले उत्पादन गरेको तरकारीको माग अहिले झन बढ्न थालेको छ।

दमेकको बनहुँमा रहेको सात रोपनी खेतबारीमा उनले फलाएको तरकारीले राम्रो बजार पाउने गरेको हो । विसं २०५३ देखि निरन्तर तरकारी खेती गर्दै आएका सापकोटाले तरकारी बिक्रीबाट मासिक ३० हजारभन्दा बढी खुद नाफा गर्दै आएका छन्। अहिले उनको बारीमा काउली, बन्दागोभी, मूला, गाजर, सिमी, काँक्रो फलेका छन् । बेमौसममा समेत तरकारी उत्पादन गर्दै आउनुभएका सापाकोटाका सबै तरकारी प्राङ्गारिक छन् ।

‘तरकारीमा प्रयोग गर्ने विषादी कस्तो हुन्छ मलाई जानकारी छैन,’ उनले भने, ‘रोग कीरा नियन्त्रण गर्न मैले प्रयोग गर्ने औषधि गाईवस्तुको गहुँत मात्रै हो।’ गहुँतकै प्रयोगले मात्रै तरकारीमा लागेका सबै रोगका कीरा मर्ने गरेको उनले जानकारी दिए।
डोकोमा तरकारी बोकेर उपभोक्ताको घरघरमा पुग्ने सापकोटाको तराकारीले उचित मूल्य पाउने गरेको छ।

पछिल्लो समय उनलाई ग्राहकले गोपि साइलाको नामले चिन्ने गरेका छन् । परिवारका साइला छोरा चवन्न वर्षीय टीकारामले डोकोमा गोभी बोकेर बेच्दै हिँड्ने गरेकाले उनको परिचय नै फेरिएको हो । तरकारीले दिलाएको परिचयबाट सापकोटा सन्तुष्ट छन्।

अहिले छिटो तरकारी उत्पादनका लागि किसानले बोटमा कीटनाशक औषधि प्रयोग गर्दैआएका छन् तर औषधिले कृषक तथा उपभोक्ताको स्वास्थ्यमा कति असर पार्छ भन्ने खासै चासो नदिए पनि सापकोटाले भने उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आएका छन्। विषादीका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने विषयमा गाइँगुइँ सुन्नुभएका उनले कहिलै पनि तरकारीमा विषादी प्रयोग गर्ने र छिटै धन आर्जन गर्ने मन नपलाएको बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार