Tuesday, October 1, 2024

गाईभैंसीको गोबरबाट बायोग्यास उत्पादन

नवलपरासी–पश्चिम नवलपरासीमा जैविक फोहोरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ।

रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाईभैंसीको मल (गोबर) र मोलासिस अन्य कुहिने फोहामैलाबाट बायोग्यास उत्पादन गर्दै आएको हो ।

फोहोरमौलाबाट बायोग्यास र मल उत्पादन गर्ने यो मुलुककै पहिलो प्लान्ट भएको प्रालिको दाबी छ । यस्ता प्रकारको उद्योग मुलुकका सबै शहरमा आवश्यक रहेको उद्योग सञ्चालक सञ्जीव अग्रवाल बताउँछन्।

करीब दुई बिघा क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा स्वचालित उपकरण जडित छन् । जसबाट मल फिट्ने, ग्यास बनाउने, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम हुने गर्दछ । अहिले प्रालिमा उत्पादित बायोग्यास रुपन्देही जिल्लाका विभिन्न ठूलाठूला होटलमा प्रयोग हुँदै आएको छ । यसको माग दिनप्रति दिन बढ्दै गएको प्रालिका प्लान्ट म्यानेजर सञ्जीव यादव बताउँछन्।

कूल २२ करोडको लागतमा करीब एक वर्ष अघि निर्मित प्रालिमा ३७५० घनमिटर बायोग्यास प्लान्ट जडान गरी जैविक फोहरबाट बायोग्यास (बोटलिङ) उत्पादन हुँदै आएकोे छ। सो परियोजनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विश्व बैंक र जलवायु लगानीकोषअन्तर्गत सञ्चालित नवीकरणीय ऊर्जा विस्तार आयोजनाको चार करोड ९१ लाख नगद अनुदान सहायता प्राप्त भएको छ ।

स्थानीयस्तरमा रहेको गाईभैँसीको मल (गोबर) मोलासिस र अन्य कुहिने फोरहमैलाबाट बायोग्यास उत्पादन गर्ने मुख्य कच्चा पदार्थ हुन् । जुन स्थानीयस्तरमै पर्याप्त मात्रमा पाइन्छ । प्रालिबाट हाल दैनिक करीब १०० को सङ्ख्यामा ग्यास सिण्लिडर तयार भई बजारमा जाने गर्दछ । प्रतिसिलिण्डरमा ११ केजी ६०० ग्राम बायोग्यास हुने प्रालिले जनाएको छ । उद्योगमा हाल २० कर्मचारी कार्यरत छन् ।

प्रालिमा बायोग्यास उत्पादन हुनु पहिलो आम्दानीको स्रोत हो भने अर्कोतर्फ उद्योगमा अन्तिम अवस्थामा विकार वस्तुको रुपमा रहने फोहरमैलालाई जैविक मलका रुपमा बिक्री गर्दै आएको छ ।

त्यहाँबाट उत्पादन हुने जैविक मा प्रतिकेजी १८ मा बिक्री हुने गरेको प्रालिले जनाएको छ । यस उद्योगले यसबाहेक ग्रिन इनर्जी परामर्श केन्द्रको स्थापनासमेत गरेको छ । आगामी दिनमा शैचालयबाट निस्कने फोहरमैलाको उचित व्यवस्थापना गरी बायोग्यास उत्पादन गर्ने लक्ष्य लिएको प्रालिले जनाएको छ। पुरुषोत्तम सुवेदी/रासस

ताजा समाचार

सम्बन्धित समाचार