काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
– आजको नयाँ पत्रिकामा बालुवाको अनुमति लिएर ढुंगा र गिटी प्रशोधन गर्दै क्रसर उद्योग शिर्षकमा विदुर पौडेलको समाचार छापिएको छ । बालुवा प्रशोधनको अनुमति लिएका क्रसर उद्योगहरूले ढुंगा र गिट्टी प्रशोधन तथा क्रसिङ गरिरहेका छन् । त्यसमा पनि अधिकांश उद्योग मापदण्डविपरीत सञ्चालित छन् । जिल्ला समन्वय समिति र स्थानीय प्रशासनले गरेको अनुगमनमा सिन्धुलीका क्रसर उद्योगले एउटा अनुमति लिएर अर्कै काम गरिरहेको पाइएको हो । ‘ढुंगा र गिट्टी प्रशोधन गरिरहेको भेटियो,’ जिल्ला समन्वय समितिका प्रमुख शंकर बर्मा तिवारीले भने । क्रसर उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता हुन्छन् । त्यहाँबाट उनीहरूले बालुवा प्रशोधन तथा निकासीको अनुमति लिएका हुन्छन् ।
नागरिक
– आजको नागरिकमा शौचालय अभावले सास्ती शिर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ । हात्तीमाथि बसेर अनि जिपमा चढेर जंगल घुम्न मन पराउने पर्यटकको प्रमुख रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो– सौराहा। जंगल सफारीका लागि मात्र होइन, डुंगा चढेर जलविहार गर्न, हात्ती प्रजनन केन्द्र हेर्न, थारू संस्कृतिमा रमाउन, प्राकृतिक सुन्दरतामा मन बहलाउनका लागि पनि पर्यटकहरू सौराहा आउँछन्। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि सौराहामा पर्यटकीय गतिविधि बढ्दै गएको हो। पहिलेपहिले वन्यजन्तु अवलोकन गर्न यहाँ आउने पर्यटकहरू ‘टेन्ट’मै रात पनि बिताउथे।
यति हुँदाहुँदै पनि सौराहा घुम्न आउने पर्यटकले झेल्नुपर्ने समस्या हो– सार्वजनिक शौचालयको अभाव। शौचालय प्रयोगका लागि होटल तथा रेस्टुरेन्ट नै चहार्नुपर्ने बाध्यतामा छन् यहाँ आउने पर्यटक। दुई दशकदेखि सौराहामा ‘टुरिस्ट गाइड’को काम गर्दै आएका उमेश चौधरी सौराहामा सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई अप्ठ्यारो पर्ने गरेको बताउँछन्।
राजधानी
–आजको राजधानीमा बाग्मतीको १८८ रोपनी जग्गा विवाद, २२ वर्षदेखि सुल्झेन अर्बौंको मुआब्जा विवाद शिर्षकमा केशवप्रसाद पाण्डेको समाचार छापिएको छ । सरकारी लापरबाहीका कारण २२ वर्षदेखि बाग्मती सुधार आयोजना अन्तर्गतको मुआब्जा विवाद अझै सुल्झन सकेको छैन । बाग्मती नदीको बहाव क्षेत्र परिवर्तन गराउने क्रममा उपयोग भएको १८८ रोपनी जग्गाका विषयमा फेरि विवाद देखिएको हो ।अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिका परियोजना व्यवस्थापक आशिष घिमिरेका अनुसार बाग्मती नदीमा ढल, सडक, तटबन्ध निर्माण गर्ने क्रममा नदीलाई सिधा बाटोमा हिँडाउँदा र नदीको बहाव क्षेत्र विस्तार गर्ने क्रममा साविक (२०२१/२२) को नक्साअनुसार व्यक्तिगत नाममा रहेको किसानको जग्गा बहाव क्षेत्रमा पर्न गएको थियो ।
कान्तिपुर
–आजको कान्तिपुरमा रारामा खोलानाला सुके शिर्षकमा राजबहादुर शाहीको समाचार छापिएको छ। रारासँग आफ्नो बखानका लागि थुप्रै चिज छन् । त्यसमा हिमाली असला माछा पनि पर्छ । माछाको संख्या भने पछिल्लो समय घट्दै गएको छ । स्थानीयका अनुसार एक दशकअघिसम्म रारामा माछाको लस्कर किनारैसम्म देखिन्थ्यो ।
‘अहिले माछा पहिलेजति देखिँदैन,’ जीवजन्तुमा रुचि राख्ने पूर्वशिक्षक देवीकृष्ण रावलले भने, ‘असला जातका माछा झनै जोखिममा परेका हाम्रो अनुमान छ ।’ हिमाली असला माछा रारामा मात्रै पाइने स्थानीयको दाबी छ ।
स्थानीयका अनुसार अहिले असला माछालाई आहारा अभाव छ । २०३५ सालसम्म छाप्रुमहादेव भन्ने स्थानमा बाक्लो बस्ती थियो । त्यहाँ गहुँ, जौ, चिनो, कागुनो, फलफूल प्रशस्त उत्पादन हुन्थे । बर्खाका बेला खेतबारीबाट बगेर तालमा पुग्थे र माछाको आहारा बन्थे । ‘निकुञ्ज बनेपछि बस्ती सर्यो, माछा मार्ने क्रम रोकियो,’ रावलले भने, ‘आहारको महत्त्वपूर्ण स्रोत पनि घट्यो ।’





