Sunday, October 20, 2024

पानीका मुद्दा समाधान गर्न सक्ने व्यक्ति नै सफल नेता

नेपालमा कस्ता व्यक्ति नेता हुन सक्छन र भैरहेका छन ? राजनीति, आर्थिक र सामाजिक विकासमा चासो राख्ने सबैका लागि जिज्ञासको विषय हो यो ।

राजधानीमा जारी वातावरण सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनमा यो विषयको जवाफ खोज्ने प्रयास भएको छ । सहभागीको एउटै निष्कर्ष थियो– जुन व्यक्तिले स्थानीयदेखि राष्ट्रिय तहका पानीका मुद्दा समाधान गर्न सक्छ, त्यही व्यक्ति नेता बन्दछ । धेरै नेताको ध्यान नपुगेको यो विषयमा सहभागीहरुले निकै गम्भीर छलफल गरे ।

“पानी वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी ”विषयक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ र दलका प्रतिनिधिहरुले यस्तो निश्कर्ष निकालेका हुन् । सम्मेलनको तेस्रो तथा अन्तिम दिनमा आयोजकहरुले निकै रोचक शैलीमा प्यानल छलफल गराएका थिए ।

लामो समयदेखि पानीको क्षेत्रमा कार्यरत राजनीतिकर्मी पूर्वमन्त्री गणेश शाह,पूर्व सचिव शीतलबाबु रेग्मी, एमालेकी नेतृ तथा सांसद रामकुमारी झाक्री, पूर्व सचिव तथा विवेकशील साझा पार्टीका नेता किशोर थापा, योजना आयोगका पूर्व सदस्य सुनिलबाबु श्रेष्ठ र नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्मा सो छलफलमा सहभागी थिए ।

पूर्वमन्त्री शाहले संसारका विभिन्न भागमा संकटको रुपमा देखापरेको स्वच्छ पानीको लागि काम गर्न सक्ने अथवा समग्र पानीको समस्या समाधान गर्न सक्ने व्यक्ति नै नेताको रुपमा उदाउने वताए ।

पूर्व सचिव रेग्मीले पानीको प्रचूरता रहेपनि प्रतिव्यक्ति उपलब्धताका हिसाबले अभाव नै झेलिरहेका नेपालीका लागि सिंचाई,खानेपानी र अन्य उपयोगमा पर्याप्त पानी उपलब्ध गराउन सक्ने व्यक्ति नै पानीको क्षेत्रको मात्र नभई देशकै नेता हुने दावी गरे । उनले पानीको समस्या समाधान भएपछि नै नेपालको समृद्धिको ढोका खुल्ने जिकिर गरे ।

पूर्व सचिव रेग्मीले नेपालमा पानीको विषय सधै पेचिलो बन्ने गरेको र छिमेकी मित्रराष्ट्रसँग भएका सन्धी संझौताहरु सधै विवादमा पर्दै आएको वताए । उनले कोशी, गण्डकी र महाकाली जस्ता सन्धीहरु विवादमा परेको भन्दै मुलुक संघीयतामा गैसकेको अवस्थामा केही समयपछि प्रदेशहरुका बीचमा पनि पानीले द्धन्द्ध उत्पन्न हुने खतरा रहेकोमा सजग गराए । उनले जसले भावी तथा र हाल देखिएका समस्या समाधान गर्न सक्छ, त्यस्तो व्यक्ति नै नेताको रुपमा उदाउने वताए ।

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पानी नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत भएकोले देशको समृद्धि र जनताको सुखका लागि यसको सदुपयोग हुनुपर्ने वताइन् । उनले जनताको आवश्यकता अनुसार पानी उपलब्ध गराउने प्रविधिको उपयोग गर्ने र जनताका मागलाई संबोधन गर्न सक्ने प्राविधिकहरुको सहयोग प्राप्त सामाजिक नेता नै आउँदा दिनमा नेताको रुपमा उदाउने र स्थापित हुने बताइन् ।

विवेकशील साझा पार्टीका नेता किशोर थापाले नेपाली समाजलाई पानीका कारणले विभाजन हैन जोड्न सक्ने व्यक्ति नै आगामी दिनमा नेताको रुपमा स्थापित हुने तर्क गरे । उनले खानेपानीका लागि ३ घन्टा हिडुनुपर्ने वाध्यताका साथै सिंचाईको समस्या समाधान गर्ने व्यक्ति नै वास्तविक नेता हुने वताए । उनले नेपालमा पानीको मुद्धालाई राम्रोसंग समाधान गर्न सक्ने नेता नै नभएको गुनासो गरे ।

पूर्वमन्त्री आनन्द पोखरेलले नेपालका हिमालयहरु र यसको दक्षिण भेगमा बस्ने नेपाल र भारतका झण्डै एक अर्ब मानिसको जीवनको आधारको रुपमा रहेको पानीको स्रोत भएकोले यसको संरक्षणमा विवेक पु–्याउन सक्ने व्यक्ति नै नेपालको नेताको रुपमा उदाउने ठोकुवा गरे । पूर्वमन्त्री जनार्दन शर्माले पानीको समुचित व्यवस्थापनमा जोड दिए । उनले पानीको व्यवस्थान गर्न नसक्दा वाढी, पहिरो, डुवानको समस्या देखा परेको वताए ।

ताजा समाचार

सम्बन्धित समाचार