Tuesday, October 1, 2024

काम नगर्ने ठेकेदार कम्पनीको टेण्डर खारेज गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काम नगर्ने ठेकेदार कम्पनीको टेण्डर खारेज गर्न निर्देशन दिएका छन्।

ऊर्जा मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पुनले भने, ‘आयोजनाको ठेक्का लिने तर काम नगर्ने, समय मात्र थप्ने, उच्च तहबाट दबाव दिनेहरुको ठेक्का तोड्नुहोस्, त्यस्ता ठेकेदार कम्पनीलाई अर्को पटक काम पनि नदिनुहोस्।’

मन्त्री पुनले समस्याका रुपमा रहेका आयोजनाको हकमा विशेष व्यवस्था गर्ने भन्दै त्यसका लागि संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।

मंगलबार भएको समीक्षामा उनले योजना छनोट गर्दा सरकारको प्राथमिकता र मन्त्रालयले जारी गरेको श्वेतपत्रलाई आधार मान्न समेत निर्देशन दिए। जलविद्युत र सिंचाइ परियोजनाको अध्ययन गर्ने काम पनि पेशा–व्यवसायजस्तो भएकोमा समेत उनले असन्तुष्टि जनाए।

‘परियोजनाको जहिले पनि अध्ययन मात्र भइरहेको छ भन्ने तर अध्ययन कहिले पनि नसकिने रोग देखियो, परियोजना फिजिवल छ भने अघि बढाऔं छैन् भने प्रोजेक्ट बैंकमा राखौं, यो अध्ययन मात्र भइरहेको छ भनेर गुमराहमा नपारौँ,’ मन्त्री पुनले भने।

ताजा समाचार

सम्बन्धित समाचार