पत्रपत्रिकामा आज : गैँडालाई न घाँस न घोल, बरदान बन्यो बागमतीको फोहोर पानी

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
– आजको कान्तिपुरमा गैँडालाई न घाँस न घोल शिर्षकमा अब्दुल्लाह मियाँ र रमेशकुमार पौडेलको समाचार छापिएको छ। एकसिंगे गैंडाको मुख्य आश्रय चितवन निकुञ्जको क्षेत्रफल ९५२।६३ वर्ग किलोमिटर छ । निकुञ्जबाहिर थप ७२९.३७ वर्ग किमि मध्यवर्ती क्षेत्र छ । निकुञ्जभित्र गैंडाको मुख्य बासस्थान २५ प्रतिशत मात्र छ । त्यसमा पनि बर्सेनि दुई प्रतिशतका दरले बासस्थान विनाश भइरहेको छ।

बासस्थान खुम्चँदा गैंडा आहार (घाँसेमैदान) र बासस्थान (घोल र पानी) को खोजी गर्दै ‘कोर एरिया’ बाट मध्यवर्ती क्षेत्रमा आउने गरेका छन्।

त्यस्तै दुनै जोगाउने कि बगाउने शिर्षकमा विष्णुलाल बुढाको समाचार छापिएको छ । कार्यक्रमको नाम– दुनै बचाउ अभियान, जसले दुनैलाई नै जोखिममा पार्ने गरी भेरी नदीको दोहन गरिरहेको छ । दुनैलाई फेरो हालेर बगिरहेको भेरीको दोहनले डोल्पावासी चिन्तित भएका छन् ।

दुनै जोखिममा परेको भन्दै सरकारले नदीमा तटबन्ध काम गरिरहेको छ। काम गर्नेक्रममा निर्माण कम्पनीले नदीको बहावलाई नै असर पार्ने गरी ढुंगा, बालुवा झिकिरहेको छ। यसले बर्खामा नदीको बहाव बहकिएर दुनैलाई असर पार्ने स्थानीयको भनाइ छ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा बरदान बन्यो बागमतीको फोहोर पानी शिर्षकमा कृष्ण सारुमगरको समाचार छापिएको छ । काठमाडौंबाट बग्ने वाग्मती वर्षात्मा बाढी बनेर आइदिन्छ, हिउँदमा निरन्तर फोहरसँगै बगिरहन्छ। फोहर पानीकै कारण माछा पनि राम्ररी बाँच्न सक्दैनन्। गाईवस्तुलाई खुवाउनसमेत योग्य नहुने फोहोर पानीका कारण कतिपयले खोलालाई मृत वाग्मती पनि भन्छन्।

तर त्यही वाग्मती बग्दै मकवानपुर र सिन्धुलीको सिमानासम्म पुग्दा भने स्थानीयलाई बरदान भएको छ। ५५ वर्षीय बहादुरसिं लोप्चनको दैनिकी २५ वर्षदेखि वाग्मतीमा बितेको छ। वाग्मती खोला नजिक सिन्धुलीको हरिहरपुर गाउँपालिकास्थित चप्राडाँडाका स्थानीय उनले जब वाग्मतीको बगरमा पाइला राखे, अन्यत्र फर्कनु परेको छैन।

नागरिक
–आजको नागरिकमा भेरी दोहनमा मन्त्रीकै क्रसर उद्योग शिर्षकमा नगेन्द्र उपाध्यायको समाचार छापिएको छ । विस २०७१ मा भेरी नदीमा आएको बाढीले बराहताल–२ स्थित थापाडेरामा ठूलो क्षति पुर्‍यायो। ५० भन्दाबढी स्थानीयको घर–खेत पुर्‍यो। १० जनाले ज्यान गुमाए। खेतीयोग्य जमिन बगरमा परिणत भयो। भेरीको भेलले विस्थापित भएकाहरु कर्णाली राजमार्ग छेउको गिरीघाटमा कष्टकर जीवन विताइरहेका छन्। विस्थापितहरुको थातथलोमा भने बालुवा र ढुंगा तस्कारहरुले ‘राज’ गरिरहेका छन्।

थापाडेरा चुरे क्षेत्रमा पर्छ। भेरी नदी किनारमै दुई वर्षदेखि क्रसर उद्योग सञ्चालन छ। मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगमा सञ्चालक हुन्, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्री। स्थानीयहरुले थापाडेरामा भइरहेको अवैध उत्खनन् र क्रसर उद्योग सञ्चालन रोक्न स्थानीय सरकार र प्रशासनसँग पटक–पटक माग नराखेका होइनन्।

नयाँ पत्रिका
– आजको नयाँ पत्रिकामा मुहान किनेर खानेपानीको जोहो शिर्षकमा मोहन दुरालको समाचार छापिएको छ। खानेपानीको अभाव भएपछि षडानन्द नगरपालिका दिङ्लाका घनश्याम श्रेष्ठका चार दाजुभाइले केही वर्षअघि ८० हजार रुपैँयामा पानीको मुहान किने। षडानन्द–८ तुङ्गेछाका पोस्टबहादुर चापागाईंसँग श्रेष्ठ दाजुभाइले खानेपानीको मुहान किनेर पानीको जोहो गरिरहेका छन्। चापागाईंले मुहानबाट सित्तैमा पानी ल्याउन नदिएपछि मुहान भएको चारआना जग्गा नै किन्नु परेको श्रेष्ठले बताए।

विगत केही वर्षदेखि गाउँका खानेपानीका मुहान सुक्न थालेपछि स्थानीयलाई पानीको हाहाकार छ। ‘जग्गाधनीले आफ्नो जग्गामा पर्ने मुहानको पानी लैजान जग्गा नै किन्नुपर्ने सर्त राख्ने गरेका छन्,’ श्रेष्ठले भने, ‘अहिले गाउँका धेरैले मुहान किनेर पानीको जोहो गर्न थालेका छन्।’

ताजा समाचार

सम्बन्धित समाचार