महानगरको आफ्नै ब्रुमर मंगलबारदेखि सञ्चालनमा

काठमाडौँ – काठमाडौँ महागरपालिकाले महानगरभित्रको धुलो तथा फोहोर सफा गर्न मंगलरबारदेखि आफ्नै स्वामित्त्वमा रहेकाे ब्रुमर सञ्चालनमा ल्याउने भएको छ।

यसअघि सडक विभागको समन्वयमा दुइटा ब्रुमरले धुलो सफा गरिरहेको महानगरले मंगलबारबाट आफ्नै स्वामित्त्वमा रहेको पाँच ब्रुमर सञ्चालनमा ल्याउन लागेको हो।

काठमाडौँलाई धुवाँ, धुलो र ध्वनीमुक्त सहर बनाउने भन्दै महानगरले सहरी सफाइका लागि केही दिन अघिमात्रै पाँच अत्याधुनिक ब्रमुर ल्याएको थियो। डुलेभो६००० मोडलको उक्त ब्रुमरले भ्याकुमका रूपमा धुलो तान्नेछ भने प्लास्टिक तथा बोतल जस्ता फोहोरसमेत सजिलै तान्नेछ।

१० करोड ८० लाखका पाँच ब्रुमर महानगरका ३२ वटै वडामा प्रयोग गरिने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनका अनुसार महानगरका मुख्य क्षेत्रका ८–८ वडा र अन्य क्षेत्रमा ५–५ वडाको हिसाबले पाँचवटा ब्रुमरको प्रयोग गरिनेछ।

हाल महानगरले आफ्नो भवन वरपर(बागदरबार क्षेत्र), लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार