Wednesday, October 2, 2024

खानेपानीको सुविधाबाट कसैलाई पछाडि नपारियोस्

पानी सुविधाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने मूल नाराका साथ यस वर्ष विश्व पानी दिवस मनाइँदैछ। पानी जीवन हो भन्ने नारालाई धेरैै वर्षसम्म यो दिवसले अँगालेको थियो। वास्तवमा पानी भएर नै जीवन पनि सम्भव भएको ध्रुवसत्य कुरालाई नकार्न सकिन्न।

तर, स्वच्छ पानी सबै मानिसले पिउन पाएका छैनन् भन्ने आज चिन्ता उत्पन्न भएको छ। पानीका विषयमा सचेतना जगाउने उद्देश्यका साथ विश्व पानी दिवस मार्च २२ तारिखमा मनाउने गरिन्छ।

एकातिर पानीलाई जीवन ठानिन्छ, अर्कातिर पानीको उपलब्धता एकदमै जटिल छ। त्यसैले २१औँ शताब्दीमा मानिसहरूका बीचमा पानी प्राप्तिका लागि लडाइँ हुन्छ भनेर वेत्ताहरुले भन्ने गरेका छन्। वास्तवमा पानीको मात्रा र गुणस्तर कम हुँदै जानु, स्रोतहरू मासिँदै जानु, भूमिगत पानीको दोहन हुनु र भूमिगत पानी दबिँदै जानुले पनि यो कुरालाई पुष्टि गरेको छ। छिमेकीका बीचमा मात्र होइन,एक अर्का गाउँ टोलका बीचमा मात्रै पनि होइन अन्तर्राष्ट्रिय स्तरमा नै पानीका निहँुले झगडा हुन थालेका छन्।

यस वर्षको नाराले पिउने पानी सबैलाई पुगोस् भन्ने चाहना राखेको छ। तर, विश्वको २९ प्रतिशत जनसंख्या अहिले पनि स्वच्छ पानी पिउन वञ्चित छ। पानी पाउनका लागि घण्टौँसम्म हिँड्नुपर्ने नेपाल जस्तो देशमा यद्यपि वाध्यकारी अवस्था छ। उता खाडी मुलुकलगायत विश्वका विभिन्न भागमा पानीको अभावका कारण यसलाई अति नै महँगोमा किन्नुपर्ने स्थितिमा जनसंख्याको ठूलो हिस्सा पनि रहेको छ। यो स्थितिमा सुधार आउन सकेको छैन उल्टै उतैतिरको तौल बढिरहेको छ।

सन् २०२५ सम्ममा विश्वको आधा जनसंख्या पानीको संकटबाट प्रभावित हुनेछ भनेर आधिकारिक निकायहरुले पूर्वानुमान गरिसकेका छन् । अहिले पनि दुई अर्ब मानिस दिसाको अंशमिश्रित पानी पिउन बाध्य छन् ।

पानीजन्य रोगका कारण हुने मृत्युको तथ्यांक कहाली लाग्दो छ। खराब पानीले हुने झाडापखालाबाट मात्र वर्सेनि आठ लाख ४२ हजारले ज्यान गुमाउनु परेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ९ प्रतिशत मानिसले मुस्किलले पानी त पाएका छन् तर त्यसमा सतहको पानी खाने,तालको पानी खाने र खोलाको पानी खानेहरु पनि पर्दछन्। यी स्रोतहरुको पानी सोझै खानुलाई उही विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर होइन भन्छ । घरमा पिउने पानीको जोहो जसोतसो गरे पनि कार्यस्थलमा र स्वास्थ संस्थाहरुमा पानी नपाएर छट्पटिएका छन्। करीब ३८ प्रतिशत स्वास्थ्य सेवाप्रदायक संस्थाहरु पानी सुविधाबाट वञ्चित छन्।

नेपालको सन्दर्भमा हेर्दा करिब ८० प्रतिशत मानिस स्वच्छ पिउने पानीको पहुँचमा छन्। यदि जीवनलाई स्वास्थ्य राख्ने हो भने हुनुपर्ने सतप्रतिशत नै हो। नेपालजस्तो पानीको स्रोतको धनी देशमा यो लाजलाग्दो आँकडा हो। यहाँ पानीका कारण उब्जिने झाडापखालालगायतका रोगबाट हरेक साल ४४ हजार जना पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु हुने गरेको छ। पानीजन्य रोगहरु हेपाटाइटिस, हैजा,टाइफाइड,जुकालगायतले लाखौँ मानिसलाई प्रभाव पारिरहेको छ। साथै फोहोर पानीबाट उब्जिने रोगका कीटाणुबाहक जीवहरु(भेक्टर)जस्तै लामखुट्टे,स्यान्डफ्लाई आदिले सार्ने रोगको प्रकोप अर्को खतराको शक्ति झन् बढेर आएको छ।

काठमाण्डौँ उपत्यकामा मात्र गरिएको एक सर्वेक्षणले बताएको छ–७२ प्रतिशत घरमा ल्याइएको पिउने पानीमा इस्चेरिचिया कोली र कोलिफर्म व्याक्टेरिया पाइएको छ । त्यसैगरी हानिकारक मानिएका तत्वहरू (जुन पिउने पानीमा हुुनुहुँदैन) जस्तै नाइट्रोजन, एमोनिया ४५ प्रतिशतमा पाइएको थियो । ९० वटा नमुना लिएर गरिएको सो अध्ययनले आर्सेनिक र अन्य गह्रौँ धातुहरुको उपस्थिति विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा निकै माथि रहेको पत्ता लगाएको थियो।

तराईका ठूला शहरहरु विराटनगर,वीरगञ्ज,नेपालगञ्ज,भरतपुरमा गुणस्तरीय पिउने पानीको अभाव छ। यहाँका थुप्रै मानिसहरुले खानेपानी संस्थान वा उपभोक्ता समितिले बाँडेको पानी पिउन पाएका छैनन्। जो ट्यूबवेलको पानी सोझै प्रयोग गर्छ भने सो पानी स्वास्थ्यकर नहुन सक्छ। उसले पानी त पायो तर स्वच्छ पानी भन्न मिल्दैन।

तराईका पुराना शहरमा पानी आपूर्ति गर्न विच्छ्याइका पाइपहरु आधा शताब्दीभन्दा माथि उमेरका भइसकेका छन्। कतिपय त शताब्दी पूरा भएका छन्। असुरक्षित र अवैज्ञानिक किसिमले बनाइएका पानी बग्ने त्यस्ता पाइपहरु जहाँतहीँ फुटेर फोहोर पानी र ढल मिसिइरहेको अवस्था छ। खानेपानी संस्थानले धारामा वितरण गरेको पानी धमिलो र लेदोमिश्रित आउँछ भने त्यसलाई कसरी विश्वास गर्न सकिएला स्वच्छ छ भनेर। तसर्थ पानीको सुविधामा भएका भनिएका मानिसहरु नै बढ्ता जोखिममा परेका छन्।

पाँच वर्ष पहिले विराटनगरको खानेपानी पाइपबाट फैलिएको हेपाटाइटिस ई भाइरसले हजारौँ मानिसलाई पीडित बनायो भने ११ जनाको ज्यान लियो। त्यसबाट त्रसित भएका अधिकांश विराटनगरबासी आजसम्म पनि वितरित पानीलाई विश्वास नगरी स्यालो ट्यूबवेलमा आधारित बनिरहेका छन्।

पानीको सुविधाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने चाहना विश्व समुदायले राखेको छ तर पानी संकट कसरी टार्ने हो भन्ने पीरले उही समुदायलाई विचलित पनि बनाएको छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने आधा जनसंख्याको पानीको मागलाई भूमिगत पानीले पूर्ति गरेको छ। त्यही भूमिगत पानी वर्सेनी भासिएको भासिएकै छ । तराईमा करिब दुई मिटर प्रतिवर्षका दरले पानी दबिएर गएको एशियाली विकास बैँक,जाइकालगायत संस्थाहरुको अनुसन्धानले देखाएको छ।

काठमाडाैंमा पनि अढाई मिटर प्रतिवर्षका हिसाबले पानी दबिएर गएको छ। अनि त काठमाण्डौँमात्र होइन तराईमा पनि दश वर्ष अगाडि बनाइएको स्यालो ट्यूबवेलमा हिउँदमा पानी आउँदैन। तराईमा जब विद्युतीकरणले गाउँलाई सुविधासम्पन्न बनायो,कृषि प्रणालीमा परिवर्तन ल्याउन खोजियो तब भूमिगत पानीमा ठूलो दोहन हुनथाल्यो । आज कम्तीमा एक लाख डीप बोरिङले दिनरात भूमिगत पानी सिँचाईका लागि तानिरहिएको छ । हिउँदमा पानीको स्रोत सुकेपछि मानिसको दैनिक जीवनको सञ्चालन कसरी हुनसक्छ।

समस्या तराईको जत्तिकै पहाडमा पनि छ। त्यहाँ भएको शहरी विकास र सडक विस्तार तथा विकास योजनाले पानीका मूलहरु मासिएका छन्। उसैमाथि घना जंगलको संरक्षण नहुने, जलचक्र नियमित नभएकोले जलभण्डारण हुन नसक्ने तर पानीको माग चाहिँ बढिरहने समस्या छ । पानीकै दुःखले बसाईँ हिँड्नु परेका समाचार प्रसस्त आइरहेका छन्।

पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण जल चक्र नराम्ररी प्रभावित बनेको छ। हिमालमा हिउँ प्रसस्त नपरेपछि भूमिगत पानी सुक्ने नै भयो । तराईको समथर भूमिमा भूगर्भबाट आउने पानी भनेको हिमालबाटै भित्र भित्रै रसिएर आउने हो। साथै सतहको पानी सोसिएर भूमिगत पानी बन्ने हो । अनि त एकै दिन धेरै वर्षा हुँदा पानी मुनि रिचार्ज हुन पाउँदैन र जलभण्डार रित्तिन्छ ।

कोही पनि केवल मानव होइन सबै जीवजन्तुलाई सफा र गुणस्तरीय पानी आवश्यक छ। पानीको भण्डार जोगाउने, सुरक्षित राख्ने, भारु तथा दिगो उपयोग गर्ने अनि पानी फोहोर भएमा आउने समस्याहरुबारे जनचेतनाको अझै खाँचो छ। अनि, भएको पानीका प्राकृतिक स्रोतलाई कसरी व्यवस्थित गर्ने,सन्तुतिल प्रयोग कसरी गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमा नै थालिएको अभियानलाई पूर्णता दिन आवश्यक छ ।

Email : ramchandra.adhikari@gmail.com 

ताजा समाचार

सम्बन्धित समाचार