Wednesday, October 2, 2024

१५० परिवारलाई पानी फिल्टर वितरण

महेन्द्रनगर–गैरसरकारी संस्था संयुक्त दर्शन नेपालले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका १ सय ५० परिवारलाई बायोसेन्ड फिल्टर नामक पानी छान्ने मेसिन (फिल्टर) वितरण गरेको छ।

संयुक्त दर्शन नेपाल कञ्चनपुरका प्रबन्धक रवीन कुरुङम्वाङका अनुसार पानी फिल्टर मेसिनका साथै बाल्टिन, बाल्टिन स्टेन्ड समेत वितरण गरिएको छ। दूषित पानी पिउँदा रोग लाग्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ झण्डै ६ लाख मूल्य बराबरको सामग्री वितरण गरिएको उनले बताए।

यसअघि शुक्लाफाँटा नगरपालिकाका विभिन्न तीन गाउँमा बायोसेन्ड फिल्टर मेसिन बितरण गरिएको प्रबन्धक कुरुङम्वाङले बताए। उनका अनुसार अहिलेसम्म संयुक्त दर्शन नेपालले शुक्लाफाँटाका ७ सय बढी घरपरिवारलाई पानी छान्ने मेसिन वितरण गरेको छ।

‘यसअघि शुक्लाफाँटा–८ को बेलडाँडीका १ सय ५० परिवार, नौखरीका ४ सय बढी परिवार र शुक्लाफाँटा–२ को गुल्लरपटीका ३६ घर परिवारलाई मेसिन बितरण गरेका छौं, यो प्रबिधि प्रभावकारी छ,’ प्रबन्धक कुरुङम्वाङले भने। आर्सेनिकयुक्त पानी भएका गाउँमा संयुक्त दर्शन नेपालले कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।

‘यो कार्यक्रम आर्सेनिक पानी बढी भएको गाउँमा सञ्चालन गरेका छौं, यो पानी छान्ने प्रबिधि सस्तो छ, प्रभावकारी पनि छ,’ उनले भने। बायोसेन्ड फिल्टर मेसिन पाएका सबै परिवारले पानी फिल्टरिङ गरेर मात्र प्रयोग गरिरहेको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ बेलडाँडीका स्थानीय जनक चौधरीले बताए। ‘पानी छान्ने मेसिन पाएपछि सबैले पानी छानेर प्रयोग गरेका छन्, यो प्रबिधि सस्तो र प्रभावकारी छ,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार