Wednesday, October 2, 2024

आठ करोडको लागतमा खानेपानी योजना, ५०० परिवार लाभान्वित हुने

कावासोती–नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ।

खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन्। यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको योजना शुरु गरिएको हो।

‘मैनाघाट खानेपानी योजना’ अन्तर्गत मैनाघाटमा डिप बोरिङ निर्माणको काम सम्पन्न गरिएको छ। १३५ मिटरको गहिराईबाट भूमिगत पानि निकालिएको वडाध्यक्ष अजुर्न पगेंनीले जानकारी दिए। अब खानेपानी वितरणका लागि अन्य ओभरहेड ट्याङ्की निर्माण, पाइप विस्तार, लगायतका कार्य गरिने उनले जानकारी दिए।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दमौली गण्डकी प्रदेशको सात करोड ९१ लाखको लागतमा योजना शुरु गरिएको हो । केन्द्र सरकारले समेत केही बजेट विनियोजन गरेको उनले बताए।

दुई वर्षमा योजना सम्पन्न गर्ने गरी काम गरिएको हो। योजना सम्पन्न भएसँगै खानेपानीको समस्या झेल्दै आएका मैनाघाट, दुवाकुन, मगरसिंगालगायत करीब ५०० घरपरिवार लाभान्वित हुने वडाध्यक्ष पगेंनीले जानकारी दिए। रासस

ताजा समाचार

सम्बन्धित समाचार