Wednesday, October 2, 2024

‘जनताको जलविद्युत् कार्यक्रम’ माथिल्लो त्रिशूली थ्री ‘बी’ बाट

काठमाडौं–‘जनताको जलविद्युत् कार्यक्रम’ ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाबाट शुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको साधारण शेयर (आइपिओ) को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिएसँगै कार्यक्रम शुरु भएको हो।

प्रधानमन्त्री ओलीले यस शेयरका लागि पहिलो आवेदनकर्ता रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ।
यसैगरी, ऊर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ ले १ हजार कित्ता, पूर्वसभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ता र प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताका लागि आवेदन दिएका छन्। शेयर खरिद गरेपछि प्रधानमन्त्री ओलीले नयाँ अभ्यासको थालनी भएको बताए।

ओलीले मौरीले थोरै–थोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै–थोरै लगानीले ठुला आयोजनाहरु निर्माण गर्न सकिने बताए। ‘मौरीले फूलको थोरै रस संलकन गरेर मह जम्मा गरे जस्तै हामीले थोरै थोरै लगानीमा सबै जनतालाई सहभागिता गराएर ठुला आयोजनाको निर्माण गर्न सक्छौं ,’ उनले भने, ‘यस्तो अभियान पर्यटन,कृषि आदिका क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ।’

सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको शेयर बिहीबारदेखि खुलाएको हो। सरकारको यो कार्यक्रमअन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिन सकिनेछ।

गत फागुन २ गते ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए ।

नेपाली नागरिकको लगानीमा नै ३ हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु गरिएको मन्त्रालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार