Thursday, September 19, 2024

ओस्लोमा कार पार्किङ स्थल मासेर साइकल लेन

काठमाडौं–यदि तपाईँले यतिबेला नर्बेको राजधानी ओस्लोको तल्लो भागमा गाडीमा जाने निर्णय गर्नु भएको छ, भने होसियारी अपनाउनुस्। तपाईँ सडकको छेउछाउमा पार्किङ गर्न सक्नुहुन्न। यस वर्षको शुरुमा नै यो शहरले ७ सय वटा पार्किङ हटाउने र त्यसलाई साइकल लेन, रुख, साना पार्कहरूले प्रतिस्थापन गर्ने कार्य सम्पन्न गरिसकेको छ।

सिटी सेन्टरलाई कारमुक्त गर्ने एउटा भिजनको एउटा महत्वपूर्ण कदमको रुपमा यसलाई लिइएको छ। यस क्षेत्रमा कारलाई पूर्ण रुपमा प्रतिबन्ध लाएपछि थोरै मानिसले मात्र कार चलाइरहेका छन्।

‘वास्तवमा त्यहाँ कार नै छैनन्,’ अर्वान सेयरिङ कम्पनीका मुख्य कार्यकारी अधिकृत एक्सेल वेन्टसेनले भने। सो कम्पनीले ओस्लो कार वाइक कम्पनी सञ्चालन गर्छ जसले स्थानीय वाइक सेयरिङ प्रणाली सञ्चालन गरेको छ।

पछिल्लो समयमा विशेषगरी शहरको वायु गुणस्तरमा परिवर्तन गर्न र जलवायु परिवर्तनको असरसँग लड्नका लागि यी परिवर्तनहरु गरिएका हुन्। ओस्लो शहरले विशेषत सन् १९८० को दशकदेखि सार्वजनिक यातायातामा धेरै लगानी गर्न थालेको छ।

सन् २०१५ मा प्रगतिशिल राजनीतिक शक्ति सिटी काउन्सिलको शक्तिमा आएपछि उनीहरुले त्यसलाई व्यापक परिवर्तन गर्ने योजनाहरु ल्याउन थाले। पहिलो चरणहरुमा उनीहरुलाई कारलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन आग्रह गरे, किनभने यहाँका अधिकांश बासिन्दाले कार चलाउँदैनन्।

जब व्यापारीहरुले त्यसको विरोध गर्न थाले र उनीहरुले आफ्ना ग्राहक गुमाउने चिन्ता व्यक्त गर्न थाले। उनीहरुले विस्तारै पार्किङ स्थान हटाउने कामलाई क्रमशः अगाडि वढाए। अहिले सेन्टरको केही पर पार्किङ ग्यारेजहरु रहेका छन्। केही ठाउँहरु छोडिएको छ, विशेषगरी अपाङ्गता भएकाहरुका लागि पार्किङको व्यवस्था गरिएको छ। केही सडकहरुमा बिहानको समयमा ट्रकबाट सामान छाड्नको लागि छोडिएको छ।

तर, इमरजेन्सी गाडीहरुको लागि भने अहिले पनि पहुँच दिइएको छ। तर, उनीहरुले ग्यारेजमा पार्किङ गर्नुपर्छ। पछिल्लो समयमा पैदलयात्री, साइकल चढ्ने र सार्वजनिक यातायातलाई बढी प्राथमिकतामा राखिएको छ। धेरै शताब्दीदेखि ओस्लो शहरको निर्माणमा नै कारलाई लक्षित गरेर बनाइएको थियो तर, अहिले त्यसलाई परिवर्तन गर्ने समय आएको ओस्लोका उपप्रमुख हान्ने मारक्युसेनले बताएका छन् ।

उनले अब हामीले कस्तो शहर वनाउने भन्ने वारेमा सोच्ने बेला आएको बताएका छन्। ‘मलाई पूर्ण रुपमा विश्वास छ कि जव मानिसले उनीहरुको आदर्श शहरको कल्पना गर्ने छन् उनीहरुले प्रदूषित शहर, लामो ट्राफिक जान र सडक नै पुरै कारले भरिएको देख्ने उनीहरुको सपना हुने छैन,’ उनले भने।

ओस्लोको साइक्लिङका प्रमुख रुने जिओसले यसमा परिवर्तन ल्याउनको लागि शहरले सार्वजनिक यातायात र साइकललाई सुविधाजनक र सुरक्षित वनाउनको लागि धेरै सुधारहरु गरेको बताए। शहरमा नयाँ मेट्रो लाइन थपिएको छ भने टिकटको मूल्य पनि घटाइएको छ।

त्यसगरी पछिल्लो वर्षमा वाइक नेटवर्कको पनि विकास गरिएको छ। वाइक सेयरिङ प्रणालीमा व्यापक परिवर्तन ल्याइएको छ। अहिले गरिएको परिवर्तनप्रति केही कार कम्पनीका मालिक र केही व्यापारीहरुले विरोध गरिरहेका छन्।

पहिले उनीहरुले चिन्ता व्यक्त गर्दथे कि यो योजनाले शहरमा कोही आउँदैन र भुत शहरमा परिणत हुनेछ। तर नतिजा उल्टो देखियो, नयाँ व्यवस्था गरिएका शहरहरु लोकप्रिय भए। पार्किङ बन्द गरेपछि शहरमा पैदयात्रीको संख्यामा अधिल्लो वर्षको तुलनामा १० प्रतिशले वृद्धि भएको देखियो।

त्यसले सरकारले अधिकारीहरुले आफूहरुले लिएको निर्णय सही भएको बताउन थालेका छन्। पुरानो पानीमा परिवर्तन आफैमा चुनौतीपूर्ण भएपनि सफलता हात लागेको उनीहरुको दाबी छ। ओस्लो मात्र होइन अन्य धेरै शहरले पनि कारको चापलाई कम गर्न विभिन्न कदमहरु लिइएका रहेका छन्। बढ्दो प्रदूषण नियन्त्रण र ट्राफिक जाम हटाउन नेपालमा पनि साइकलको प्रवद्र्धन र सार्वजनिक यातायात प्रवद्र्धन गर्नुको विकल्प देखिँदैन्। बरु त्यस प्रकारको नीति बनाउन ढिलो भइसकेको छ।

नोटः फास्टकम्पनी अनलाइनमा प्रकाशित समाचारको सारांश अनुवाद

ताजा समाचार

सम्बन्धित समाचार