Wednesday, October 2, 2024

मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी

चिप्लेढुङ्गा- उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ । महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च कास्कीले संयुक्त अनुगमन गरेको हो । अनुगमनका सिलसिलामा पोखरा महानगरपालिका–१० स्थित बी भाञ्जा सप्लायर्समा मापदण्डविपरीत सञ्चालन भएको भन्दै सिलबन्दी गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए।

उक्त सप्लार्यसमा अत्यधिक दुर्गन्ध, दर्ता नभएको, सार्वजनिकस्थलमा फोहर गरिएको, वडाको निर्देशन बेवास्ता गरेको भन्दै कानूनी कारवाहीका लागि सिलबन्दी गरिएको नेपालीको भनाइ छ । उनले भने, “हामीले मापदण्डका बारेमा जानकारी गराएका छौँ । त्यो निर्देशनअनुसार सञ्चालनका लागि अनुमति दिन्छौँ । अब मापदण्डविपरीत सञ्चालन गर्ने कुनै पनि पसललाई स्थानीय कानूनअनुसार कारवाही गरिनेछ ।”

उपभोक्ताहितविपरीत गैरकानूनीरूपबाट सञ्चालित व्यवसायलाई निरुत्साहन गर्न निरन्तर अनुगमन गर्नुपर्ने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए। मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने मासु व्यवसायीको गैरजिम्मेवार कार्य अनुगमन गरेर कानूनी प्रक्रियामार्फत समाधान खोजिने महानगरका सूचना अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। अनुगमनमा महानगरका प्रवक्ता नेपाली, जिल्ला प्रशासन कार्यालय कास्की, नाप तौल तथा गुणस्तर कार्यालय र पशु विकास महाशाखाका प्रतिनिधिको सहभागिता थियो । रासस

ताजा समाचार

सम्बन्धित समाचार