Thursday, October 3, 2024

बिचल्लीमा उखु किसान

नवलपरासी- लगाएको उखु बाली खेतमै सुक्दै गएपछि पश्चिम नवलपरासीका किसान बिचल्लीमा परेका छन् । समयभन्दा करीब दुई महीना ढिलो सञ्चालनमा आएका चिनी उद्योगहरुले किसानको सहजै रुपमा सबै उखु खरीद नगरेपछि किसान बिचल्लीमा परेका हुन् ।

अहिले पश्चिम नवलपरासी जिल्लामा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती गरी तीन ठूला उद्योग सञ्चालनमा छन् भने मोहीनी चिनी उद्योग स्थापना भएको वर्षबाहेक पूर्ण रुपमा बन्द रहँदै आएको छ ।

सञ्चालनमा रहेका चिनी उद्योग पनि बीचबीचमा विभिन्न प्राविधिक कारणले अबरुद्ध हुनु र लुम्बिनी चिनी उद्योगले सूचना टाँस गरेर केही दिनमात्रै उद्योग सञ्चालनमा आउने जनाएपछि यस वर्ष उत्पादन भएका सबै उखु पेलिने सम्भावना निकै कम छ ।

सबै चिनी उद्योग समयभरि सञ्चालनमा आएका किसानले उत्पादन गरेका सबै उखु पेलिने वाग्मती चिनी उद्योगका महाप्रबन्धक टङ्कनाथ काफ्ले बताउछन्। सञ्चालनमा आएका चिनी उद्योगले पनि उखु किसानसँग पर्याप्त मात्रामा उखु खरीद नगरेपछि किसान चिन्तित बनेको उखु किसानका अगुवा प्रतापपुर–६ गुठीप्रसौनीका धीरज त्रिपाठीको भनाइ छ ।

त्रिपाठीका अनुसार यसपटक चिनी उद्योगहरुले आवश्यकताअनुसार मात्र उखु खरीद गर्ने गरेका छन् । किसानले उत्पादन गरेको सबै उखु यस वर्ष खपत नहुने निश्चित देखिन्छ । इन्दीरासुगर मिलबाट अघिल्लो वर्षको करीब चार करोड उखु खरीद गरेवापतको बाँकी रकम हालसम्म पनि किसानले पाएका छैनन् । अझ चिनी उद्योगले उखु किसानले उत्पादन गरेको सबै उखु खरीद नगर्ने अवस्था देखिएपछि किसान मर्कामा परेका हुन् ।

पश्चिम नवलपरासीमा यसवर्ष करीब १८ उखु लाख क्विन्टल उखु उत्पादन भएको अनुमान छ । चिनी उद्योगले यस यामभर उद्योग सञ्चालन गरेपनि करीब १२ लाख क्विन्टल मात्र उखु पेलिने अवस्था देखिन्छ ।

किसानको सबै उखु पेलानी हुन नसक्ने अवस्था आएपछि किसान निकै समस्यामा परेका छन् । अघिल्लो वर्षको रकम नपाउने र यस वर्ष सबै उखु उद्योगले खरीद नगर्ने भएपछि किसान दोहोरो मारमा परेको उखु किसानका अगुवा प्रतापपुर–६ गुठीप्रसौनीका दिनेश त्रिपाठी बताउछन्।

यसवर्ष समयमै उखु पेलानी नहुनु र ढिलै भएपनि सबै उखु पेलानी नहुने भएपछि लगाएको उखु खेतमै सुक्दै जाँदा किसानमा निराशा बढको छ ।

केही मात्रमा भारतीय उखुसमेत नेपाल भित्रिएकाले किसान झन समस्यामा परेको उखु कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादव बताउछन्। राज्यले उखु बालीलाई राष्ट्रिय बालीको रूपमा घोषणा गरे पनि उखु किसानको समस्या समाधान हुन सकेको छैन् । सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु ५३६।५६ पैसा निर्धारण गरिसकेको छ ।

पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ । ९तस्बीर उपलब्ध छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार