Thursday, October 3, 2024

आगोले खाएको बस्तीमा पानीको पर्खाइ

नारायणपुर–पाँच वर्ष पहिले राजपुर गाउँपालिका–७ को वनकट्टी गाउँ पूरै आगोले खायो। जङ्गलको छेउमा रहेको गाउँका ६५ बढी घर खरानी भए। खरका छाना भएका ती घर विद्युत्को प्रमुख प्रसारण लाइन सर्ट भएर आगो लागेपछि गाउँनै विस्थापित भयो।

अहिले वनकट्टी गाउँ ५०० मिटर उत्तरमा सरेको छ। उस्तै अभाव छ, उस्तै गरीबी छ। त्योभन्दा बढी वनकट्टीवासीको समस्या खानेपानीको छ। ‘पुरानो बस्तीमा कुवा थिए, पानी पनि राम्रो थियो,’ आगोले खानुभन्दा पहिलेको बस्ती सम्झँदै उर्मिला भण्डारीले भनिन्, ‘नयाँ बस्ती बसेपछि खानेपानीको समस्या देखिँदै आएको छ।’

नयाँ बस्तीमा कुवा भएपनि हिउँद र खडेरीमा सुकेर जाने गरेको विजय केसीले बताए। ‘गाउँमा पानीको निकै समस्या छ, कुवा छन् तर पानी धमिलो हुन्छ, खानलायकसम्म हुँदैन,’ उनले भने। नयाँ बस्तीको बीचमा विभिन्न निकायले निर्माण गरेका चार-पाँच वटा कुवा छन्, तर ती कुवा वर्षाको समयमा बाढीले पुर्ने गरेको छ।

‘वर्षाको बेला सोतामा आएको बाढीले कुवा सबै पुर्छ, बाढी धामिएपछि फेरि कुवालाई सफा गरेर पानी खाने गर्छौं,’ केसीले भने, ‘नदीको छेउमा बस्ती भएर पनि हामीलाई निकै समस्या भएको छ।’ बस्तीको एकातिर राप्ती सुसाइरहन्छ भने अर्कोतर्फ स्थानीय खोला छ। वर्षातको समयमा बाढी आउने र भएका कुवा पुर्ने गरेका कारण वनकट्टीवासीले शुद्ध पिउने पानीको प्रयोग गर्न पाएका छैनन् । चैत वैशाखको समयमा पानीको हाहाकार नै हुने उर्मिला भण्डारीले बताए।

पिउने पानीको समस्या भोग्दै आएका वनकट्टीका बासिन्दाले सिँचाइको सुविधासमेत नपाउँदा उब्जनीमा समेत समस्या भोग्ने गरेको बताउँछन् । ‘सिङ्गो राप्ती नदीको छेउमा गाउँ छ, तर सिँचाइ छैन, मकै, तोरी, तरकारी खेतीपाती ग¥यो सबै सुकेर जान्छ। जेठमा मकै छ¥यो, अलिकति अन्नबाली हुर्कियो, आकाशे पानीआएन, खेती गरेको ठाउँमा बाख्रा चराउन बाध्य भयौँ,’ भण्डारीले भने, ‘सिँचाइका लागि कुलो छैन, पूर्वाधार छैन।’

विसं २०७१ वैशाखमा आगोले सखाप पारेको वनकट्टी गाउँलाई स्थानान्तरण गरेपछि पीडित परिवार सरकारको सुविधाबाट वञ्चित मात्र भएका छैनन्, झनझन अभाव भोग्न बाध्य भएका छन् । स्थानीय सरकारले वनकट्टी गाउँमा खानेपानी र सडकका लागि कार्यक्रम निर्माण गरेको बताउँछ ।

‘नयाँ बस्ती भएका कारण सबै पूर्वाधार पु¥याउन समय लागेको हो, योभन्दा अगाडि पनि खानेपानीका लागि केही कुवा खन्ने काम भएको छ,’ गाउँपालिकाका अध्यक्ष लोकराज केसीले भने, ‘ तर वर्षात्को समयमा कुवा पुरिने गरेका कारण ट्याङ्की निर्माण गरेर धारा पु¥याउने योजना बनेको छ ।’ रासस

ताजा समाचार

सम्बन्धित समाचार