Thursday, October 3, 2024

अव्यवस्थित विकासले निम्त्याएको विनास

अछाम–सडक निर्माण विकासको प्रमुख पूर्वाधार भएपनि अव्यवस्थित विकासका कारण समस्या निम्तिने गरेको छ।

प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) समेत नगरी अव्यवस्थित रुपमा मनोमानी ढंगले सडक खन्दा यसले विनास समेत निम्त्याउन थालेको विज्ञहरू बताउँछन्।

अछामको कमलबजारमा रहेको सेरा गाउँमा डोजरबाट सडक बनाइँदै।

विशेषगरी कमजोर भू-बनोट भएका स्थानमा पहिरोको जोखिम बढेको छ। कतिपय बस्ती विस्थापित भइसकेका छन्, भने कति विस्थापनको जोखिममा छन्।

अछामको कमलबजार नगरपालिका–७ मा रहेको सेरा गाउँ पनि अव्यवस्थित विकासका कारण पहिरोबाट अछुतो छैन।२०६७ सालमा कमलबजार नगरपालिका वडा नम्बर ४ र ५ को सीमानामा पर्ने क्वालेखदेखि सेरासम्म बाटो पुर्‍याउने प्रयास शुरु भयो। तर, २०६९ सालमा ठूलो पहिरो गएपछि त्यो सपना त्यसै तुहियो। त्यही सडक खन्ने क्रममा एक बालकले ज्यान गुमाउनु परेको थियो। उक्त सडक बनाउने योजना सफल भएको भए अछामको सदरमुकाम मंगलसेनसम्म सडक सञ्जाल जोडिन्थो।

त्यसपछि अर्काे विकल्प खोजियो। र, २०७३ सालमा अर्को योजना बन्यो– कमलबजारदेखि ढाकु हुँदै सेरासम्म सडक पुर्याउने। र, २०७३ फागुनबाटै सडक खन्ने काम शुरु भयो, एक महिनामै सडक पनि बन्यो। गाउँमा सडक बनेपछि स्थानीय हर्षित बने। अर्को वर्ष साउनमा ठूलो पहिरो गएपछि सडक गाउँमा पुग्दा छाएको खुसीयाली लामो समय टिक्न सकेन।

कमलबजार नगरपालिका वडा नम्बर ७ का रणबहादुर भण्डारी भन्छन्, ‘गाउँमा गाडी आउँदा सबै खुसी थियाैं। तर, बर्खायाममा पहिरो गएपछि क्षति भयो।’  हाल यहाँका स्थानीय वासिन्दाको सडकको पहँुच कर्णाली राजमार्गमा पुगेको छ। जुन राजमार्गसँगको पहुँचले कमलबजार हुँदै सदरमुकाम मंगलसेनसम्म पनि पुग्न सकिन्छ। तर, उक्त सडक पनि जोखिमपूर्ण अवस्थामा छ।

कमलबजार नगरपालिका वडा नम्बर ८ का जगतबहादुर विष्टले सडक निर्माणका क्रममा झण्डै २५ रोपनी खेतीयोग्य जमिन गुमाए। अहिले उनको घर समेत जोखिममा छ। ‘त्यतिबेला हामीले क्षतिको कुरा सोचेनौ। बाटो बन्दा क्षति होला भन्ने सोचेका पनि थिएनौं,’ बिष्टले भने, ‘पहिरो जान्छ कि भन्ने शंका त थियो। पैसा हालेर वडाबाट जाली बनाएर रोकथाम गरौंला जसरी पनि भनेर उनीहरूले पनि भने र हामीले पनि बाटोको सुविधा लिनुपर्छ भन्ने भयो। सेरामा पनि जमिन भएकाले आउन जान सजिलो हुन्छ भनेर बाटो दिएका हौं।’

सेरा गाउँका झण्डै ३० घर र एउटा विद्यालय पहिरोको अति जोखिममा छन्। यस्तै पहिरो गइरहने हो भने पूरै गाउँ विस्थापनको संघारमा पुग्ने स्थानीयको आँकलन छ।

यो गाउँ अन्न उत्पादनको हिसाबले अछामको एउटा पकेट क्षेत्र नै हो। अछामको कालीमाटी पछि दोस्रो खेतीयोग्य जमिन भएको स्थान हो यो। यहाँ मुख्यगरी धान, गहुँ, मकै, तोरी र कोदो उत्पादन हुन्छ। अन्न उत्पादनका हिसाबले अब्बल क्षेत्र कहलिएको यो गाउँमा अहिले २ सय रोपनी खेतीयोग्य जमिन पहिरोले क्षति गरिसकेको छ। अब बाँकी रहेको खेत पनि पहिरोको जोखिममा छ।

यतिबेला हिउँदे अन्नबाली भित्रर्याउने बेला भयो। तर, बर्खामा बाली लगाउने कि नलगाउने दोधारमा छन स्थानीय। बाटो निर्माणपछि समृद्धिको आशामा रेहका स्थानीय हाल आएर चिन्तित छन्।  ‘यहाँ अन्न फल्थ्यो। २ बर्षदेखि यो खेत उपभोग गर्न पाएको छैन,’ विष्टले भने, ‘पहिला त ठीक थियो नि हाम्रो यो पुर्खादेखि बसोबास गरेको ठाउँ हो।’

अव्यवस्थित रूपमा सडक खन्दा अछामकाे सेरा गाउँमा गएकाे पहिराे।

छात्रा गौरी भण्डारी विद्यालय जाँदा समेत पहिरो खस्ने भय हुने गरेको बताउँछिन्। यस्तो समस्या भावी पुस्ताले भोग्न नपरोस भन्ने चाहन्छन् कमलबजार नगरपालिका वडा नम्बर ७ का नगरकार्यपालिका सदस्य लोकेन्द्र नेपाली। प्राविधिक अध्ययन गरेर मात्रै सडक निर्माण गर्नुपर्छ भन्ने उनको भनाइ छ। यहाँ बाटो ल्याउने योजना बनेसँगै उनले जोखिम रहे/नरहेको अध्ययनको लागि आवाज उठाउँदै आएका हुन्।

नेपालीले अन्य स्थानहरुमा मनपरी बाटो खन्दा भएको विनास देखेका छन्। ‘भोलि ५० लाख खर्च गरेर सडक बनायौं। तर, सडक भत्कियो र खेतीयोग्य जमिन नासियो भने हामीले गरेको विकासको कुनै अर्थ हुँदैन,’ उनले भने।

कमलबजार नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष गोविन्द भण्डारी अरु ठाउँमा हात्ती, बदेल आतंक रहेकोमा अछाममा डोजर आतंक भएको बताउँछन्। ‘बाटो बनाउनु छ भने रातारात डोजर लगाएर बनाइन्छ। तर, त्यसले निम्त्याउने समस्याका बारेमा सोचिदैन,’ उनले भने।

वडाध्यक्ष भण्डारी अबका दिनमा निर्माण भएका सडकलाई प्राथमिकतामा पारेर दीगो बनाएर जाने बताए। ‘सडक बनाएर मात्र हुँदैन वृक्षरोपण र तटबन्धन पनि गर्नुपर्छ,’ पद्यमसेन आधारभुत विद्यालयका प्रधानाध्यापक पदमराज जोशीले भने।

ताजा समाचार

सम्बन्धित समाचार