Thursday, October 3, 2024

चितवन निकुञ्ज वरपरका स्थानीयको बीमा गरिने

चितवन–चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ। वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको बीमा गर्न लागिएको हो।

नगरपालिका प्रमुख नारायण वनले निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइतेलाई लक्षित गर्दै बीमा गर्न लागिएको जानकारी दिए। वन्यजन्तुले निकुञ्ज बाहिर क्षति पु¥याएमा निकुञ्जले नै क्षतिपूर्ति दिने भए पनि निकुञ्जभित्र हुने घटनामा क्षतिपूर्ति दिने व्यवस्था छैन।

गरीबीका कारण स्थानीयवासी निकुञ्जमा आश्रित हुनुपरेको भन्दै उनले बाध्यतावश निकुञ्ज छिर्दा दुर्घटना भइरहेको बताए। निगुरो टिप्न, घाँस काट्न, सामान्य दाउरा टिप्न स्थानीयवासी निकुञ्ज जाने गर्दछन् । त्यतिबेला वन्यजन्तुको आक्रमणले मृत्यु वा घाइते भएमा निकुञ्जले क्षतिपूर्ति दिँदैन ।

बाहिर आएर वन्यजन्तुले आक्रमण गरेमा भने मृत्यु हुनेको परिवारलाई १० लाख दिने, उपचार गरिदिने र खेतीको समेत क्षतिपूर्ति दिने व्यवस्था छ । निकुञ्जले क्षतिपूर्ति नदिने घटनामा नगरपालिकाले रु तीनदेखि पाँच लाखसम्म बीमा पाउने व्यवस्था गर्न लागिएको प्रमुख वनले बताए। सो सम्बन्धमा बीमा कम्पनीसँग छलफल भइरहेको उनले बताए।

नगरपालिकाको वडा नं ५, ६ र ७ निकुञ्जसँग जोडिएका छन् । ती वडाका बासिन्दालाई पहिलो चरणमा बीमा गराउने उनले बताए। दोस्रो चरणमा मध्यवर्तीसँग जोडिएका वडा नं ८ र ९ का बासिन्दाको बीमा गरिने नगरप्रमुख वनको भनाइ छ । निकुञ्जसँग जोडिएका वडाका बासिन्दाको लगत लिने काम भइरहेको छ ।  नारायण अधिकारी/रासस

ताजा समाचार

सम्बन्धित समाचार