Thursday, October 3, 2024

प्राङ्गारिक कृषि विधेयकको स्वागत

सुर्खेत- कर्णाली प्रदेशसभाको बैठकमा सांसदहरुले प्राङ्गारिक कृषि विधेयकको स्वागत गरेका छन्। कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको चौथो बैठकमा ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफल सांसदहरुले उक्त विधेयकको स्वागत गरेका हुन्।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य गोपाल शर्माले कर्णाली प्रदेश सरकारले नागरिकका जीवनसँग चिन्तित भएर ऐन ल्याएको भन्दै सरकारलाई धनयवादज्ञापन तथा ऐनको स्वागत गरे। यसलाई सार्थकता दिन स्थानीय उत्पादनमा प्रोत्साहन गर्नुपर्ने उनले बताए।

उनले भने, “स्थानीय उत्पादनलाई बढावा दिनुपर्छ, विषादीमुक्त समाज बनाउनुपर्छ अनि मात्र ऐनले लिएका उद्देश्यहरु पूरा हुनेछ ।” प्रदेशलाई समृद्ध र सुखी बनाउन अर्गानिक उत्पादनमा जानुको विकल्प नरहेको शर्माको भनाइ छ ।

त्यस्तै सांसद यज्ञबहादुर विसीले कर्णालीको पहिलो आधार भनेको कृषि पेशा भएकाले त्यसलाई फराकिलो बनाउन सरकारले ल्याएको प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कोशेढुङ्गा साबित हुने बताए।

रासायनिकबाट उत्पादन भएका कृषि वस्तुको विस्थापन गरी अर्गानिक उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । स्थानीय उत्पादनलाई वृद्धि नगरी किसानको जीवन स्तर माथि उठ्ने भन्दै गरीब किसान लक्षित अर्गानिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। पहिला हेला गरिएका स्थानीय उत्पादनलाई यो ऐनले प्रोत्साहन गर्ने सांसद विसीले विश्वास गर्नुभयो ।

प्राङ्गारिक कृषि ऐन नेपालकै पहिलो : मन्त्री केसी

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने सरकारको पहिलो सङ्कल्प भएकाले नेपालको इतिहासमा पहिलो पटक कर्णालीमा यो ऐन ल्याइएको जानकारी दिए

अबका हरेक बजेट अर्गानिकसँग सम्बन्धित हुनुपर्ने बताउँदै मन्त्री केसीले कर्णालीको अर्गानिक उत्पादनलाई वृद्धि गर्न प्रोत्साहन अनुदानको नीति लिइएको जानकारी दिए। किसानले उत्पादन गरेका कृषि वस्तुको बजारीकरण र प्रवद्र्धनमा सरकारले सहयोग गर्ने बताए। विषादीलाई निरुत्साहित गर्न जैविक मल र जैविक विषादीको उत्पादनलाई जोड दिएको उहाँको भनाइ थियो । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन अब पारिवारिक खेतीको शुरु गर्नुपर्ने मन्त्री केसीको तर्क थियो ।रासस

ताजा समाचार

सम्बन्धित समाचार