धनगढी–जोशी गाउँपालिका वडा नं. ३ रामनगर कमैया बस्तीका बासिन्दाले वर्षेदेखि खानेपानीको समस्या भोग्दै आएका छन्।
वर्षैदेखि आर्सेनिकयुक्त पानी पिउँदै आएका यहाँका स्थानीयले शुद्ध खानेपानी खान पाउनुपर्ने माग गर्दौ स्थानीय सरकारसँग फिल्टरको माग गरेका छन्।
जमिनमुनिको पानी नलबाट आउँन छाडेको र निकै कम मात्रामा आउने पानी पनि आर्सेनिकको मात्र बढी भएकाले यहाँका बासिन्दाले स्थानीय सरकारसँग फिल्टरको माग गरेका हुन्।
क्रिचियन एड नेपालको आर्थिक सहयोग र कमैया प्रथा उन्मुलन समाज कैलालीद्धारा सञ्चालित मुक्त कमैयाहरूको हक अधिकार र मर्यादा सवलीकरण परियोजनाबारे जानकारी सम्बन्धी सारोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा मुक्त कमैया बस्तीका बासिन्दाले शुद्ध खानेपानीको माग गरेका हुन्।
सुख्खा डाँडामा मुक्त कमैया बस्तीको बसोबास भएकोले सो ठाउँमा पानीको समस्या देखिएको जोशी गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताए।
उनले यहाँका सबै वडा वासीहरूले आर्सेनिक पानी खादै आएको बताए। गाउँपालिकाले खानेपानी टङ्की निर्माणकोलागि भौतिक निर्माण तथा पूर्वधार मन्त्रालय मार्फत पहल चालेको समेत जानकारी दिए।
‘यो ठाउँमा १७० फिट गहिरो नल गाडेपनि पानी नुनिलो आउँछ। आर्सेनिकको मात्रा एकदमै बढी देखिएको छ,’उनले भने।
अध्यक्ष चौधरीले बस्तीमा ८/१० वटा फिल्टर वितरण गरी खानेपानीलाई शुद्ध बनाउन गाउँपालिका सहयोग गर्न सक्ने बताए।
अध्यक्ष चौधरीले समुदायलाई शुद्ध खानेपानी प्रदान गर्नेका लागि यही आर्थिक वर्षको मसान्त भित्रै रामनगर बस्ती लगायत अरू बस्तीहरूमा डिप बोरिंगपनि उपलब्ध गराउने योजना रहेको बताए।
त्यसै गरी कैलारी गाउँपालिकाका वडा नं. ७ मिलनपुर/विपतपुर मुक्त कमैया शिविरमा पनि खानेपानी र सिँचाई समस्या रहेको बस्तीका अगुवाहरूको भनाई छ।
वडा नं. ७ का अध्यक्ष कमल प्रसाद चौधरीले कमैया बस्ती बसन्ता कोरिडोर क्षेत्र भित्र पर्ने भएकोले सानो कमजोरीले सिङ्गो समुदायलाई नै असर परिरहेकोले वनविभागले छुट्त्याइएको क्षेत्र भन्दा बाहिर गएर अतिक्रमण नगरिदिन समेत अनुरोध गरे।
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले विपतपुर/मिलनपुर मुक्त कमैया बस्तीमा शुद्ध खानेपानी र सिँचाईको समस्या रहेको स्वीकार गर्दै गाउँपालिकाले वैशाख महिना भित्रै उच्च नल्का र बोरिंग उपलब्ध गराउने बताए।





