Wednesday, November 20, 2024

व्यावसायिक प्याराग्लाइडिङ शुभारम्भ

सिन्धुपाल्चोक : जिल्लाको सागाचोकगढी नगरपालिका–९ कदमवासको लामाचौरमा प्याराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ भएको छ । नेपाल सरकारको मान्यताप्राप्त नेपाल प्याराग्लाइडिङ तथा हयाण्डग्लाइडिङ सङ्घद्वारा आयोजित व्यावसायिक उडानको नगरप्रमुख अमानसिं तामाङबाट शनिवार शुभारम्भ भएको हो ।

उडानबाट प्याराग्लाइडिङका लागि उक्त स्थान उपयुक्त ठहरिएको थियो । नगरपालिकाका सबै वडाहरूमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको र सोही परिप्रेक्षमा स्थानीय समिति र नगरपालिकाको साझेदारीमा प्याराग्लाइडिङको उडान शुरु गरिएको हो ।

शुभारम्भको दिन एकजनाले मात्र उडान गर्ने ‘सोलो’ र यात्रु बोक्ने ‘टेण्डम’ गरी दुइवटा उडान गरिएको थियो । लामाचौरबाट उडान गरी सुनकोशी गौरशङ्कर र जुगल हिमशृङ्खलाको दृश्यावलोकन पछि पुनः सोही वडाको सिनानचौरमा अवतरण गरिएको वडाध्यक्ष विष्णु लामाले बताए।

स्थानीय तहको सिफारिसमा कम्पनी दर्ता गर्नुपर्ने र नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि मात्र नियमित उडान गर्न सकिने प्रावधान रहेको छ । यसअघि काठमाडौँसँग सीमा जोडिएको मेलम्ची नगरपालिकाको भोटेचौरमा पनि प्याराग्लाइडिङको उडान हुँदै आएको छ ।

आफ्नो वडाभित्रका ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणका साथै चालू आर्थिक वर्षमा पाचँवटा ग्रामीण सडकको स्तरोन्नति गरी कालो पत्र गरिने र दुइवटा सडकको स्तरोन्नति गर्ने नगरपालिकाको कार्यक्रम छ । त्यसका लागि बोलपत्रसमेत आह्वान गरिएको छ ।

ऐतिहासिक सागाचोकगढीको पुनःनिर्माण एवं संरक्षणका लागि सङ्घीय सरकारबाट रु. २० लाख र प्रदेश ३ बाट रु. एक करोड ५० लाख सहित रु. एक करोड ७० लाख निकासा भएको छ । गढी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । त्यसैगरी प्रसिद्ध गौराती भीमेश्वर मन्दिरको पर्खाल घेर्ने लगायतका पूवाधारका लागि रु. २० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख तामाङले जानकारी दिए। रासस 

ताजा समाचार

सम्बन्धित समाचार