Wednesday, November 20, 2024

विश्वव्यापी अभियान नेपालमा पनि शुरु

काठमाडौँ – अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेशनलको विश्वव्यापी सामाजिक अभियान ‘गल्र्स गेट इक्वेल’ नेपालका ५ वटा प्रदेशमा कार्यक्रम गरी शुरुवात गरिएको छ ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा युवाहरूका अगुवाइमा सुनसरी, रौतहट, मकवानपुर, बाग्लुङ र बाँकेमा आयोजित कार्यक्रममा किशोरीका लागि समान शक्ति प्रदान गर्नुपर्ने सन्देशसहित अभियान शुरु भएको हो।

किशोरीको अधिकार र सशक्तिकरणका लागि पैरवी गरिरहेका ५ जना किशोरकिशोरीले अभियान शुभारम्भ कार्यक्रममा बाल विवाह, मानव बेचविखन, महिला हिंसा, विभेद जस्ता समस्याविरुद्ध आफ्नो अगुवाइमा भएका गतिविधि समेटेर सहभागीलाई कथा सुनाएका थिए। उनीहरुले लैंगिक समानताका लागि महिला र किशोरीलाई समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्व प्रदान गर्नुपर्ने माग समेत गरेका छन्।

सो अवसरमा किशोरकिशोरीहरुले कथामार्फत् आफ्नो समुदायमा किशोरीहरूले भोग्नु परिरहेको समस्या, ती समस्यालाई चिर्न गरिएको योगदान, अहिले भइरहेका परिवर्तन लगायत विषयबारे धारणा राख्दै किशोरी र महिलाको हितका लागि सहयोग गर्न आव्हान समेत गरेका छन्। सुनसरीकी किशोरी अलविना प्रविनले बाल विवाहका कारण बालिका र किशोरीहरूको जीवन कष्टकर बन्ने भएकाले यसलाई रोक्न सबै पक्षको सहयोग आवश्यक भएको बताइन्।

प्लान इन्टरनेशनलले अघि सारेको यो अभियानले किशोरीहरू समान नभएसम्म कोही पनि समान हुन सक्दैनन् भन्ने सन्देशसहित उनीहरुमा समान शक्ति, समान स्वतन्त्रता र समान प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । अभियान घोषणा कार्यक्रममा सम्वन्धित क्षेत्रका जनप्रतिनिधि, नागरिक संस्थाका प्रतिनिधि, महिला समूह र किशोरी सञ्जाल, बाल क्लव, युवा क्लवका प्रतिनिधि लगायतको सहभागिता थियो । अभियान घोषणा कार्यक्रम प्लान इन्टरनेशनल नेपाल, नेपाल युवा संस्था सञ्जाल (आयोन) र परिवर्तनका लागि हामी नामक संस्थाको समन्वयमा भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार