काठमाडौँ – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वातावरण पत्रकार समूह(नेफेज), फ्रिडम फाेरमलगायत विभन्न संस्थाकाे अगुवाइमा ‘महिलाको लागि अग्रसरता’ भन्ने नारा सहित एक कार्यक्रम सम्पन्न भएकाे छ।
शुक्रबार दिउँसो एक बजे काठमाडौँको भृकुटी मण्डपबाट शुरु भएको र्याली भद्रकाली, सुनधारा, न्यूरोड हुँदै बसन्तपुर पुगेर सकिएको थियो।
विभिन्न संघसंस्थाको सहभागिता रहेको र्याली बसन्तपुर पुगी सभामा परिणत भएको थियो।
सभालाई सम्बाेधन गर्दै फ्रिडम फाेरमका अध्यक्ष हरिबिनाेद अधिकारीले महिला सशक्तिकरण दीगाे विकास लक्ष्य प्राप्तीकाे एक महत्त्वपूर्ण पाटाे भएकाे प्रकाश पार्दै सञ्चार माध्यममा महिला सहभागिता त्यसकाे पूर्व शर्त भएकाे बताए ।
त्यस्तै नेफेजका महासचिव निमेष रेग्मीले सञ्चार क्षेत्रले सीमान्तकृत र पिछडिएका वर्गलाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हालै महिला पत्रकारहरूको सम्मेलन सम्पन्न गरेको बताउँदै सञ्चार क्षेत्रले महिलाका समावेशीकरणलाई अझ प्राथमिकतामा राख्नुपर्ने बताए। उक्त कार्यक्रम मन्तव्यसँगै कविता वाचन तथा नृत्य प्रदर्शन पछि समाप्त भएको थियो।
तस्बिर सबै: शालिक भट्ट