Wednesday, November 20, 2024

साइकल सिटी चितवनमा साइकल देख्नै मुस्किल

रत्ननगर- कुनैबेला साइकलको जिल्ला भनेर परिचित चितवनमा अहिले साइकल देख्नै मुश्किल हुन थालेको छ ।

साइकल लेनको अभाव, मोटरसाइकलको बढ्दो प्रयोग र आधुनिक जीवनशौलीले गर्दा साइकल देख्न मुस्किल हुन थालेको हो ।

चितवनको मुख्य राजमार्ग क्षेत्रमा छिटफुटरुपमा साइकल चलाएको देख्न पाइन्छ । दश वर्षअघिसम्म चितवनवासीले साइकलको प्रयोग गरी विभिन्न कृषिका कामदेखि बाहिरी जिल्लामा जानसमेत साइकलको प्रयोग गर्ने गर्दथे । अहिले साइकललाई विभिन्न उत्सवको ¥याली, बिहानमा शारीरिक व्यायाम गर्न र तराईबाट आएका मजदुरले मात्रै प्रयोग गरेको पाइएको छ ।

जिल्लाका भित्री बस्तीमा अझै पनि साइकलको प्रयोग गर्ने भेटिए पनि बजार क्षेत्रमा साइकलको ठाउँमा मोटरसाइकल प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको छ । साइकल सिटी भनेर देश परिचित भए पनि साइकल अनुकूल पूर्वाधार निर्माण नहुँदा साइकल प्रयोग गर्नेको सङ्ख्या पातलिएको विज्ञहरुको भनाइ छ । चितवनका महानगरपालिका तथा नगरपालिकाले साइकल लेनका लागि डेढदेखि साढे दुई मिटरसम्म सडक क्षेत्र छुट्याउनुपर्ने इञ्जिनीयर डा सूर्यराज आर्चायले बताए ।

“अहिले निर्माण भइरहेका पिचमा साइकल लेन अनिवार्य छ”, उनले भने, “जिल्लामा लेन निर्माण गरी साइकल सिटीको रुपमा ब्राण्डिङ गर्न सकिन्छ । नेपालको साइकल सिटी बनाउन उपयुक्त ठाउँ चितवन हो ।” चितवनको भौगोलिक अवस्था साइकल चलाउनका लागि उपयुक्त भएकाले साइकलको प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा स्थानीय तहले चासो दिनुपर्ने उनको भनाइ छ । चितवनलाई साइकल सिटी भनेर प्रवद्र्धन गर्न सक्यो भने पर्यटकीय, शारीरिक, स्वास्थ्य, प्रदुषणमुक्त र वातावरणमैत्री स्थानको रुपमा विकास गर्न सकिने डा आर्चायले बताए ।

साइकल प्रयोग गर्नाले आफ्नो प्रतिष्ठामा आँच आउने खालका सोचले साइकल प्रयोगकर्ता कमी आएको चितवनका साइकल व्यवसायी बताउँछन् । पछिल्लो समय बच्चा तथा गेयरवाला साइकल बिक्री हुने गरे पनि जेन्स तथा लेडिज साइकल बिक्री न्यून हुँदै गएकोसाइकल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष धर्मराज सापकोटाले बताए।

“अहिले साइकल चढ्न हुन्न भन्ने संस्कृति मौलाएको छ” उनले भने, “पहिला पहिला अभिभावकले आफ्नो बच्चाले एसएलसी दिएपछि साइकल किनिदिने गर्नुहुन्थ्यो । तर अहिले साइकल छाडेर मोटरसाइकल किनिदिने गरेको पाएका छौँ ।”

व्यवसायी सापकोटाले साइकल बिक्री कम हुँदै गएपछि साइकल व्यवसायीले अन्य व्यवसायमा हात हालेको बताए । गत वर्षभन्दा यस वर्ष साइकल व्यवसायीको सङ्ख्यामा पनि कमी आएको छ । यही अवस्था कायम रहे साइकल व्यवसाय केही वर्षपछि नै विस्थापित हुने उनको भनाइ छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले साइकल वातावरणमैत्री सवारीसाधन भएको बताउँदै महानगरभित्र निर्माण हुने ठूला सडकमा साइकल लेन राखिने बताए । अहिले डिपिआरसँगै निर्माण शुरु भइसकेको चक्रपथ र लिङ्करोडमा साइकल लेन पनि बनाउने उनले जानकारी दिए।

विसं २०६१ मा स्थापना भएको चितवन साइकल व्यवसायी सङ्घमा गत वर्षदेखि नवलपुरका व्यवसायी पनि थपिएका छन् । चितवन र नवलपुरमा ६५० साइकल व्यवसायी रहेका छन् । चितवनमा मात्रै ४१० साइकल व्यवसायमा आबद्ध छन् ।

घाँसे मैदान व्यवस्थापन गरिँदै

दुर्लभ वन्यजन्तुको आहारमा समस्या आउन नदिनका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्ने भएको छ । निकुञ्जले यस वर्ष करीब २०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिनुभयो । दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, हरिण, जरायोलगायतका संरक्षित जनावरका लागि घाँसे मैदान व्यवस्थापन गर्न लागिएको उनले बताए।

निकुञ्जभित्र घाँसको पर्याप्त व्यवस्थापन हुनसकेको अवस्थामा एकसिङ्गे गैँडा, हरिण, जरायोलगायतका जनावर बस्ती प्रवेश गर्ने भएकाले निकुञ्जले वर्षेनी घाँसे मैदान व्यवस्थापन गर्दै आएको छ ।

विभिन्न साझेदार संस्थासँगको सहकार्यमा निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्न लागेको घिमिरेले जानकारी दिए। ९५२ वर्गकिमी क्षेत्रफलमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र करीब १० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान रहेको छ । केही वर्ष पहिलेसम्म निकुञ्जले खरखडाइ खोल्ने गर्दा घाँसे मैदान व्यवस्थापन गर्नु पर्दैनथ्यो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समूहका अध्यक्ष मधुकर मल्लका अनुसार खरखडाइ खोल्न बन्द गरेपछि घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । “पहिले खरखडाई खोल्दा मध्यवर्तीका बासिन्दाले खरखडाइ काटेर लैजाने भएकाले आफैँ कमलो घाँस पलाउँथ्यो”, मल्ले भने, “खरखडाइ नै बन्द भएपछि सर्वसाधारण निकुञ्ज प्रवेश गर्न पाउँदैनन् । त्यसैले निकुञ्जले स्रोत खर्च गरेर घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।” वर्षेनी खोलिदै आएको खरखडाइ संरक्षणमा असर परेको जनाउँदै निकुञ्जले केही वर्ष अगाडिदेखि खरखडाइ बन्द गरेको हो ।रासस

ताजा समाचार

सम्बन्धित समाचार