कैलाली–सञ्चारमाध्यममा महिला सहभागिताका लागि पदयात्रा गरिएको छ।
१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस(मार्च ८)को अवसरमा बिहीबार पदयात्रा गरिएको हो।
दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ,नेपाल वातावरण पत्रकार समूह,क्रियाशील पत्रकार महिला र फ्रिडम फोरम लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाको आयोजनामा पदयात्रा गरिएको हो। धनगढीको चौराहाबाट सुरु भएको पदयात्रा सामाजिक विकास मन्त्रालय पुगेर कोणसभामा परिणत भएको थियो।
सञ्चारमाध्यम भित्र र सञ्चारमाध्यममार्फत सबैतिर महिला सहभागितालाई प्राथमिकता दिइ सहभागिता बढाउन दबाब दिने उद्देश्यले पदयात्रा गरिएको आयोजकले जनाएकोे छ।
महिला हिंसा अन्त्यका लागि महिलाले मात्रै उठाएको आवाज कमजोर भएकाले पुरुषको संलग्नता जरुरी रहेको महिला अधिकारकर्मीहरूले बताएका छन्।
पुरुषहरूलाई पनि बराबरी हिस्सेदारी बनाउन र महिला अधिकार मानव अधिकार हो भन्ने कुरामा पुरुषहरूको ऐक्यवद्धताका लागि पदयात्रा सन् २०१४ मा सुरु गरिएको हो।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा यस वर्षको नारा ‘लैगिंक समानताका लागि समान सोच,व्यवहार समृद्धिको आधार’ भन्ने रहेको छ।
अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाइन्छ। यो सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो।