टीकापुर–कैलालीको टीकापुरमा बस्तीमा पसेर चार जनालाई घाइते बनाएको चितुवालाई ११ घण्टापछि नियन्त्रणमा लिइएको छ।
टीकापुरमा रहेको खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिकैको बस्तीमा बिहीबार पसेको उक्त चितुवाले इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी जवान देविभक्त धिताल, सम्राट शाह, शेरबहादुर विक र खडानन्द न्यौपानेलाई आक्रमण गरी घाइते बनाएको थियो।
इलाका प्रहरी कार्यालय टीकापुर, बर्दिया राष्ट्रिय निकुञ्ज र सबडिभिजन वन कार्यालय लम्कीको टोलीले बिहीबार बेलुका साढे ७ बजे उक्त चितुवालाई नियन्त्रणमा लिएर निकुञ्ज लगेको हो।
चितुवाले दिनभर आतंक मच्चाएपछि बेहोस बनाउने सुई लगाएर नियन्त्रणमा लिइएको जनाइएको छ। बालकको निधार र टाउकोमा चोट लागेको छ। शहरमा बाघ पसेपछि उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्याालय सव डिभिजन लम्कीबाट टोली टीकापुर आएको थियो।
यसैगरी, बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटबाट जिउदै चितुवाको बच्चालाई समातेर डिभिजन वन कार्यालय बैतडीलाई बुझाइएको छ। बाख्रा गोठमा आएको चितुवाको बच्चालाई स्थानीय प्रताप टमाटाले समातेर वन डिभिजन कार्यालय बैतडीलाई बुझाएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार उक्त चितुवा दिनभर एयरपोर्ट नजिक झाडीका लुकेर बसेको थियो।

तस्बीर : टेक साेडारी





