Wednesday, November 20, 2024

गुर्भाकोटमा ७१ करोडको खानेपानी आयोजना बनाउन सम्झौता

वीरेन्द्रनगर–७१ करोडभन्दा बढीको लागतमा सुर्खेतको गुर्भाकोट नगरपालिकामा शुभाघाट खानेपानी तथा सरसफाइ आयोजना निर्माण हुने भएको छ।

७१ करोड १३ लाख १८ हजार ६०० लागतमा दुई वर्षभित्र निर्माण गर्ने गरी बुधबार गुर्भाकोट नगरपालिकाको शुभाघाटमा एक कार्यक्रमबीच उक्त आयोाजनाको वित्तीय सम्झैतामा हस्ताक्षर गरिएको हो। जसमध्ये नेपाल सरकारको अनुदानबाट ४९ करोड, सात लाख ९२ हजार, नगर विकास कोषबाट १७ करोड ७८ लाख २९ हजार रहेको छ।

त्यसैगरी आयोजना क्षेत्रबाट लाभान्वित हुने उपभोक्ताहरुबाट तीन करोड ५५ लाख ६५ हजार सङ्कलन भएको छ । शुभाघाट खानेपानी उपभोक्ता समितिका तर्फबाट मैना विक, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, खानेपानी तथा ढल निकास विभागका उपनिर्देशक नारायणप्रसाद आचार्य र नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्तले वित्तीय सम्झौतामा हस्ताक्षर गरे।

खानेपानी आयोजनाअन्तर्गत शुरुआतमा तीन हजार २ सय ५१ वटा निजी धारा जडान गरिने जनाइएको छ । आयोजनाका लागि एक हजार ९० घनमिटर क्षमताका सात वटा पानीपोखरी निर्माण गरिने जनाइएको छ । दुई वटा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । खानेपानी आयोजनाबाट तीन हजार घरधुरीका स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । गुर्भाकोटवासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्नका लागि आयोजना सञ्चालन गरिएको नगरप्रमुख हस्त पुनले बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार