Wednesday, November 20, 2024

पत्रपत्रिकामा आज : रोकिएन नदी र चुरे दोहन, मालपोतको संलग्नतामा गुठी जग्गा बिक्री

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।

नागरिक
–आजको नागरिकमा रोकिएन नदी र चुरे दोहन शिर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ । धनुषा र सिरहाको साझा नदी कमला नदीमा पछिल्लो समय जोतेर ढुंगा निकाल्ने क्रम बढेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा पर्ने कमला पुलदेखि उत्तर नदीभरि ट्याक्टरको कारेसोले जोतेर ढुंगा निकाल्ने गरिएको हो। यसरी निकालिने बोल्डर साइजका ढुंगा विभिन्न क्रसर उद्योगमा पुर्याउने गरिएको छ।

तर यसबारे नियमनकारी निकाय मौन बसेको कमला सिँचाइ नहरका एक चौकीदार बताउँछन्। उनले भने, ‘नदी जोतेर ढुंगा निकालेको निकाल्यै छन्। तर न प्रहरीले रोक्छ न स्थानीय सरकारले।’ स्थानीयका अनुसार कमला नदीको निकै तलसम्म बगर जोतिएको छ। ट्याक्टरको कारेसोले जोतेर निकालिने ढुंगा मजदुरले अर्को ट्याक्टरको टेलरमा लोड गरी कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न क्रसर उद्योगमा पुर्याउने गरेको स्थानीय बताउँछन्।

त्यस्तै सर्लाहीमा जंगली हात्तीको ताण्डव शिर्षकमा टंक क्षेत्रीको समाचार छापिएको छ । सर्लाहीमा तीन महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ। दिउँसो–दिउँसो जंगलमा पस्ने हात्तीहरूले रात परेपछि आसपासका बस्तीमा छिरेर विध्वंस मच्चाउने गरेका छन्। गत मंसिर १५ गते जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीको भोक्टेनीमा अचानक देखापरेका तीनवटा जंगली हात्तीले हालसम्म हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिका क्षेत्रका सयौं घर भत्काइसकेका छन्। त्यस्तै हात्तीहरूले खेतबारीका उखु, आलु, गहुँलगायत बालीनाली खाएर नष्ट पारिरहेको पीडितहरूले बताएका छन्।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा हिउँ सडक खुलाउन डोजर प्रयोग शिर्षकमा वीरबहादुर बमको समाचार छापिएको छ । पुस महिनाको पहिलो साताबाट मुगुमा भएको हिमपातबाट सडक यातायातसमेत ३ महिनादेखि अभाव भएको छ । हिमपातको सिजन सकिएपछि कर्णाली राजमार्ग सुचारु गर्न सडक डिभिजन कार्यालय जुम्ला र छायाँनाथ रारा नगरपालिकाले समेत नाग्मदेखि गमगढीसम्मको ९२ किलोमिटरभित्र ठाउँठाउँमा हिउँ पहिरो गई बाटो चिप्लिएकाले र सडक भत्किएको र हिउँ जमेकाले सो पन्छाउन ठाउँठाउँमा डोजर प्रयोग भएको कुरा मुगु छायाँनाथ रारा नगरपालिकाका देवीसिंह रोकाया बताउँछन् ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा मालपोतको संलग्नतामा गुठी जग्गा बिक्री शिर्षकमा हिमाल दाहाल र रत्नप्रसाद आचार्यको समाचार छापिएको छ । मालपोत र नापीका कर्मचारी तथा जनप्रतिनिधिको संलग्नतामा नक्कली नागरिकता बनाएर गुठीको २२ कट्ठा १० धूर जग्गा व्यक्तिको नाममा सारिएको छ। यो कार्यमा मालपोत तथा नापी कार्यालय सुनसरीका कर्मचारी र धरान उपमहानगरपालिका–१६ का अध्यक्ष दीलकुमार गिरीको समेत संलग्नता देखिएको छ। उक्त जग्गा अर्को एक व्यक्तिलाई झण्डै सवा करोड रुपैयाँमा बिक्री गर्ने अन्तिम समयमा जग्गा किर्तेको भेद खुलेको हो।

सुनसरीको रामधुनी नगरपालिका–६ स्थित चन्द्रशेखर महादेव गुठीको नाममा रहेको जग्गालाई धरान–१४ का मानबहादुर परियारको नाममा सारिएको हो। यसरी व्यक्तिको नाममा दर्ता गर्नका लागि भूमाफिया, कर्मचारी र जनप्रतिनिधिको समेत सहभागिता रहेको देखिएपछि सोहीअनुसार कारवाहीको लागि जिल्ला अदालत सुनसरीमा बुधबार अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले जानकारी दिए। उनका अनुसार किर्ते गरी जग्गा किनबेच गर्ने कार्यमा वडाध्यक्ष गिरीको समेत संलग्नता देखिएपछि अनुसन्धान गरी अभियोग पत्र दर्ता गरिएको हो। उनले जिल्ला अदालतले दोषी ठहर गरे जनप्रतिनिधिसहित सबै जेल सजायको भागिदार हुनुपर्ने बताए।

त्यस्तै ‘वाटर एटिएम’बाट दुई रुपयाँमा पानी शिर्षकमा नितु घलेको समाचार छापिएको छ । ललितपुर महानगरपालिका परिसर भित्र वाटर एटीएम राखिएको छ। ‘वाटर भेन्डिङ मेसिन’ बाट दुई रुपैयाँमा पानी पिउन पाइन्छ। यो प्रविधि नेपालमा पहिलो पटक भित्र्याइएको हो। यो प्रविधिलाई नेवारीमा लःहिटी नामाकरण गरिएको छ ‘वाटर एटीएम’लाई नेपालीमा पँधेरो’ नाम दिइएको छ। मंगलबार उद्घाटन गरी सुरु गरिएको पँधेरोमा शनिबारसम्म निःशुल्क पानी पिउन पाइनेछ।

ताजा समाचार

सम्बन्धित समाचार