मार्तडी- साँफे–मार्तडीको राजमार्ग सडकखण्डसँग जोडिएको करीब ५०० मिटर सडक अस्तव्यस्त बन्दै गएको छ ।
लगातारको वर्षाका कारण सडक निर्माण कार्य अवरुद्ध भएपछि एक महीनादेखि अस्तव्यस्त बनेको यातायात व्यवसायीले गुनासो गरेका छन् । सडक निर्माण कम्पनीले समयमै काम नगर्दा हिलाम्मे सडक भएपछि अस्तव्यस्त बनेको दुनीहाट बजारका अध्यक्ष मोहनलाल नेपालीले बताए।
उक्त सडकको तुफान डाँडादेखि त्रिवेणी चोकसम्मको सडक हिलाम्मे भएको स्थानीयवासी जनक बुढाले जानकारी दिए । उनले सो क्षेत्रको सडक हिलाम्मे भएर साना सवारी साधन आवतजावत गराउन निकै सकस हुने गरेको बताए।
निर्माण कम्पनीले समयमै सडक निर्माण नगर्दा यहाँका बासिन्दाले दैनिक सास्ती भोग्दै आएका छन् । हिलाम्मे सडकबाट यातायातका साधन आवतजावत गर्दा सडक छेउछाउका पसलमा पूरै हिलो आउने गरेकोले हैरानी खेप्दै आएको व्यापारी चक्रबहादुर रोकायाले बताए
सडक निर्माणको जिम्मा लिएको केही सयममै पिएस कन्ट्रक्सनले काम नगरेको र सडकको माटो निकालेका कारण सडक हिलाम्मे भएर मान्छे समेतलाई आवतजावत गर्न कठिन भएको रोकाया जानकारी दिए ।
बडीमालिका नगरपालिकाको आर्थिक सहयोग निर्माण हुने सडकको निर्माण कार्यको जिम्मा पिएस कम्पनीले पर्खाल निर्माणको जिम्मा लिएको बताइएको छ । कम्पनीले सडक निर्माणका लागि पर्खाल निर्माण गर्न सहयोग गरेको कार्य सकिएकाले आफ्नो कुनै जिम्मवारी नभएको बताएको छ ।रासस