ललितपुर – ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय सङ्घ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ।
महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडापिच्छे शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ। महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। शौचालय निर्माण आवश्यक भएको स्थानीयवासीबाट माग भएपछि निर्माण गर्ने योजना बनाइएको उनले बताए।
प्रवक्ता महर्जनले भने, “आवश्यक भएका ठाउँ हेरेर नयाँ निर्माण गर्ने र खराब अवस्थाका शौचालय सुधार्ने योजना छ ।” शौचालय बनाउन विभिन्न संस्था इच्छुक देखिएका छन् । बसपार्क, विभिन्नचोकलगायत भीडभाड हुने ठाउँमा शौचालय बनाउने योजना रहेको बताइएको छ। प्रत्येक वडामा कम्तीमा एउटा शौचालय निर्माण हुने गरी सम्झौता गरिनेछ। स्थानीयवासीको संलग्नतामा निर्माण हुँदा त्यसको संरक्षण हुने महानगरको विश्वास छ । पहिले उपमहानगरपालिका हुँदादेखि नै यहाँ एकाध भन्दा शौचालय छैनन् । रासस