काठमाडौं–छाडा रूपमा छोडिएका पशुचौपायाको व्यवस्थापन सरकारले गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ।
पशुचौपाया जथाभावी छोड्दा ट्राफिक व्यवस्थापनमा समस्या परेको, सडकमा दुर्घटना बढेको, दुर्घटनामा ती पशुचौपायाको समेत मृत्यु हुने गरेकाले पशुचौपायाको उचित व्यवस्थापनको प्रबन्ध राज्यले गर्नुपर्ने मागसहित अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वाेच्चमा रिट दायर गरेका हुन्।
परमादेशको मागसहित दायर रिटमा भनिएको छ, ‘देशको विभिन्न भागमा दूधको व्यवसायी गर्नेहरूले गाईले दूध दिन छाडेपछि आफूले पछिल्लो जीवन पाल्नुको सट्टामा बाटोमा ल्याइ छाडि दिने र गोरुले जोत्न नसक्ने भएपछि बाटोमा वा अन्य स्थानमा छाडी दिने त्यसको साथै काम नलाग्ने बाच्छा बाच्छीहरु समेत सार्वजनिक स्थानमा छाडी दिने क्रियाकलाप कानून विपरीत कार्य भई आजसम्म देशैभरी गैर कानूनी कार्य भइरहेको छ।’
रिटमा प्रधानमन्त्राी तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पशु सेवा विभाग, वन तथा वातावरण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाइएको छ। अधिवक्ता श्रेष्ठका अनुसार रिटको पेशी मंगलबार तोकिएको छ।





