जडीबुटी मेलामा १ करोडको कारोबार

काठमाडौं – आठौँ नेपाल जडीबुटी मेलामा १० हजार भन्दा बढी अवलोककर्ताले भ्रमण गरेका छन् ।
मेला अवधिभर १ करोड रुपैयाँ बराबरको कारोबार भएको मेला आयोजक नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घले जनाएको छ ।

“गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार” भन्ने मुल नाराका साथ फागुन १७ गते सुरु भएको आठौं नेपाल हब्र्स एक्स्पो २०१९ आज सकिएको छ ।

५० वटा स्टलमा निजी कम्पनी, सरकारी तथा गैर सरकारी क्षेत्र समेत सहभागी भएको मेला १० हजार भन्दा बढी मानिसहरुले भ्रमण गरेको आयोजकले जनाएको छ ।

व्यापारिक केन्द्र ठमेलमा भएको एक्स्पोमा अधिकांश मानिसहरु नेपालमा पाइने औषधिजन्य वनस्पति तथा सुगन्धित तेल सम्बन्धी बुझ्न र प्रमाणिकरण गरिएका अर्गानिक सामान किन्न धाएरै आएको संघका अध्यक्ष गोविन्द घिमीरेले जानकारी दिए ।
मेला अवधिभर १ करोड रुपैयाँ बराबरको कारोबार भएको मेला आयोजकले जानकारी गराएका छन ।
आठौं नेपाल हब्र्स एक्स्पोमा विभिन्न विषयका विज्ञहरुले आफ्नो प्रस्तुति समेत गरेका छन् ।

प्रस्तुतिको अन्तिम सत्रमा आयुर्वेद शिक्षाका अगुवा तथा अनुसन्धाता डा. ऋषिराज कोइरालाले आयुर्वेद र नेपालको जडिबुटी क्षेत्रले अर्थतन्त्रमा पुर्याउन सक्ने योगदान बारे चर्चा गरे ।

एक्स्पो अवधिभर दर्जन भन्दा बढी यस्तै विषयहरुमा नेपाल, बंगालादेश, चिन, फ्रान्स, क्यानडा र अन्य मुलुकका प्रतिनिधिहरु बीच अन्तरक्रिया भएको छ ।

एक्स्पोमा भएका अन्तरक्रियाहरुमा जडिबुटी क्षेत्रका ब्यक्तित्वको प्रतिनिधित्व भएका कारण यस्ता छलफलले नेपालको जडिबुटी क्षेत्रलाई माथि लैजान धेरै सहयोग गर्ने मेला आयोजक संस्था नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका महासचिव सुशील ज्ञवालीले बताए ।

प्रविधि, व्यापार, ब्रान्ड प्रोमोशन, नीति तथा मुल्य श्रृङ्खला जस्ता विषयमा भएका यस्ता छलफल मार्फत यो क्षेत्रको विकास गर्ने संघको उद्धेश्य अनुसार नै यि कार्यक्रम भएका हुन् ।

एक्स्पोका २ दिनमा नेपालका तीन दर्जन भन्दा कम्पनी र व्यापारीहरुले ६ वटा अन्तरराष्ट्रिय खरिदकर्ता कम्पनीका प्रतिनिधिहरुसँग व्यापारका संभावनाका बारेमा छुट्टा छुट्टै भेट गरे ।

त्यस बाहेक चिन र बंगालादेशका खरिदकर्ताहरुसँग भने समूहिक रुपमा व्यापारिक सहकार्य गर्ने संभावना खोजियो । एक्स्पोको सफलता पछि आगामी बर्ष आयोजना गरिने नवौं नेपाल हब्र्स एक्स्पोलाई अन्तरराष्ट्रिय एक्स्पोको रुपमा मनाउने संघका अध्यक्ष गोविन्द घिमिरेल बताए।

नेपाल तथा बंगालादेश र नेपाल तथा चिनका जडिबुटी उत्पादक र व्यापार तथा उपयोग गर्ने संघहरु बीच सम्झौता पनि सम्पन्न भयो ।
सरकारी तथा गैर सरकारी क्षेत्रबाट प्रतिनिधित्व गर्ने मध्ये वन तथा भूसंरक्षण विभागको स्टल र निजी क्षेत्रबाट होलिस्टिक हेल्थ प्रालिको स्टललाई उच्कृत्ट स्टल घोषणा गरिएको छ । उत्कृष्ट स्टल घोषित होलिस्टिक हेल्थ प्रालिले एक्स्पोका तीन दिन नै स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

३ दिने मेलामा नेपालको हिमालदेखि तराईसम्म पाइने कृषि,जैविक उत्पादन र अन्य उत्पादनसँगै प्रविधि र गुणस्तरसम्बन्धी जडीबुटीको सचित्र जानकारी दिने ५० वटा आकर्षक कक्ष राखिएको सङ्घका अध्यक्ष घिमिरेले जानकारी दिए ।

मेलामा ७ वटा कृषि र अन्य प्राकृतिक उत्पादन, १२ वटा प्रमाणीकरण गरिएका अग्र्या्निक उत्पादन, ५ वटा प्रविधि र गुणस्तरसम्बन्धी जानकारी दिने कक्ष ्रहेको उनले बताए ।

त्यस्तै १२ वटामा कस्मेटिक, स्पा र मसाजसम्बन्धी उत्पादन तथा जानकारी केन्द्र, ४ वटा आयुर्वेद तथा क्लिनिक रहेका थिए । उनका अनुसार ७ वटा सुगन्धित वनस्पतिसहितका विरुवा र फूलका स्टल र परम्परागत रूपमा जडिबुटीको सहायताले गरिने उपचार मेलाका मुख्य आकर्षण रहेको थियो ।

मेलामा ४ वटा स्टल नेपाल बाहिरका उद्यमी र खरिदकर्ताका रहेको थियो । जैविक विविधतामा नेपाल सम्पन्न मूलुक नेपालमा करिब ७ हजार प्रजातिका वनस्पति पाइन्छन् ।

दिनदिनै बढेको व्यापार घाटा कम गर्न र जडिबुटिको सहि उपयोग गर्न यस्तो किसिमको मेला फलदायी हुने अध्यक्ष घिमिरे बताउँछन्। यस्ता वनस्पतिको सही व्यवस्थापन, प्रचार–प्रसार र उपयोग गर्न सके आर्थिक क्षेत्रमा ठूलो योगदान दिन्छ ,उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार