धनगढी–कैलालीका विभिन्न अस्पताल, होटलबाट निस्कने फोहोर पानी सीधैं खोला तथा नदीमा मिसाइने गरिएको छ।
अस्पताल, होटलहरुले फोहोर पानी प्रशोधन बिना नै फोहोर पानी खोलामा मिसाउने गरेका हुन्। यहाँका होटेल तथा अस्पतालले संक्रमीणजन्य पानी विभिन्न खोलाहरूमा मिसाउने गरेका छन्। जुन पानी मोहना नदीमा मिसिँदै आएको छ।
उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता यज्ञमुर्ति खनाल खोला तथा नदीमा फोहोर पानी मिसाउँन नपाइने बताउँदै कर्मचारीको अभावमा अनुगमन तथा कारबाहीको काम अगाडी बढाउन नसकिएको बताउँछन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी कार्य्विधि, २०७५’ जारी गर्दै स्थानीय तहलाई नदी, खोला, नाला, पोखरी, ताल तलैया, सडक, चोक, पार्क, उद्यान, चौर, खुल्ला तथा सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई दिएको छ। तर, धनगढी उपमहानगरपालिकाले जलचरलाई असर पार्ने गरी फोहोर पानी सिँधै खोला नदीमामा मिसाउँदा समेत केही कारबाही गर्ने सकेको छैन।
सेती अस्पतालबाट दैनिक २ लाख फोहोर पानी निस्कन्छ। त्यो पानी सीधैं कैलाली नाला हुँदै मोहना नदीमा मिसिने गरेको छ। यो एउटा उदाहरण मात्र हो। यहाँ प्रायः सबै होटेल तथा अस्पतालहरूको फोहोर पानी खोलामा मिसाइने गरिन्छ।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले यहाँका होटेल तथा अस्पतालको पानी खोला नदीमा मिसाउँदै आएपनि आफूहरूले केही गर्ने नसकेको स्वीकार बताउँछन्। ‘होटेल, अस्पतालले फोहोर पानी प्रशोधन केन्द्रको स्थापना गरेपछि मात्र सञ्चालन गर्ने स्वीकृत दिनुपर्ने हो,’ उनले भने, ‘तर वर्षौदेखि हुँदै आएको कामलाई तत्काल कुनै विकल्प बिना नै रोक्न सकिँदैन।’
उनले यहाँको फोहोर पानी व्यवस्थापन गर्नेका लागि नयाँ योजना बनाउने तयारीमा रहेको समेत बताए।





