काठमाडौ– पानीको संकटबाट सन् २०५० सम्म ५ अर्ब जनसंख्या प्रभावित हुने प्रक्षेपण सार्वजनिक भएको छ । पानीको अवस्था सम्वन्धी संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक अध्ययनले यस्तो देखाएको हो ।
विशेषगरी जलवायु परिवर्तन, बढ्दो पानीको माग र प्रदूषित पानीका कारण ५ अर्ब जनसंख्याले पानीको अभाव भोग्नुपर्ने अध्ययनको निष्कर्ष छ ।
सो अध्ययनले नदी,इनार लगायतका पानीका अन्य स्रोतहरुमाथि वढ्दो अतिक्रमण रोक्नका लागि तत्काल कदमहरु नचालेमा त्यसले विकराल समस्या ल्याउने भनेको छ । यसले विभिन्न विवाद र मानव सभ्यता माथि नै असर गर्ने समेत अध्ययनले उल्लेख गरेको छ।
पृथ्वीको जनसंख्याले वर्षेनी ४६०० क्युविक किलोमिटर पानीको उपयोग गर्ने गर्दछन् । जसमध्ये ७० प्रतिशत कृषि, २० प्रतिशत उद्योग र १० प्रतिशत घरहरुमा उपयोग हुन्छ ।
विश्वमा गत १०० वर्षमा पानीको मात्रा ६ गुणाले बढेको छ भने प्रत्येक वर्ष १ प्रतिशतले वढीरहेको छ। सन् २०५० सम्म विश्वको जनसंख्या ९.५ अर्ब र १०.२ अर्बको विचमा रहने प्रक्षेपण गरिएको छ।
जसमा प्रत्येक ३ जनामध्ये २ जना शहरमा वस्ने छन् । विकसित भन्दा अल्पविकसित मुलुकहरुमा पानीको माग झनै वढ्ने पनि अध्ययनमा भनिएको छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न हुने सुख्खापनका कारण पानीको माग झनै वढ्ने औल्याइएको छ। खडेरी र पहिरो यस अगाडी नै मुख्य समस्याको रुपमा देखा परिसकेका छन् । त्यसमध्ये पनि खडेरी जलवायु परिवर्तनका कारण उत्पन्न भएको एउटा ठूलो समस्या हो।
करिब १ करोड ३० लाख जनसंख्या रहेको इरानको तेहरानमा खानेपानी तथा सिँचाइ निम्ति भूमिगत पानीको व्यापक प्रयोग हुन्छ। जमिनमुनिबाट अत्यधिक पानी खिच्दा भूमिगत स्रोत रित्तिन गई भासिन थालेको वैज्ञानिकहरूले बताएका छन्।





