काठमाडौं – आजका दैनिक पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापेका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा ३२ अर्बका गाई शिर्षकमा समाचार प्रकाशित छ । सो खबर पोखराबाट लालप्रसाद शर्मा र हेटौंडाबाट प्रताप विष्टले संयुक्त रुपमा खबर लेखेका छन् ।
दुग्धजन्य पदार्थको ‘हब’ बनाएर प्रदेशलाई आत्मनिर्भर बनाउन चीनको ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना गर्ने सम्झौता भएको खबरमा उल्लेख छ । यसैगरी खबरमा जनाइए अनुसार दैनिक ३५ लिटर दूध दिने होलिस्टान फ्रिजन जातका गाई चीनबाटै ल्याइने भएको छ ।
प्रदेश ३ र गण्डकी सरकारसंँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ ।
सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार सञ्चालन हुने फार्मबाट दूध तथा दुग्धजन्य पदार्थ, दाना र मल उद्योगसमेत स्थापना गरिनेछ ।
चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स (सीएएएमएस) र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले डेरी विकासबाट ग्रामीण गरिबी निवारण गर्ने भन्दै विभिन्न प्रदेशमा फार्म सञ्चालन गर्न लागेका हुन् ।
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र सीएएएमएसका प्रमुख इन्जिनिर वु देछेङले शुक्रबार फार्म सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सिन्धुलीमा गाईका लागि घाँसमा आधारित दाना उत्पादन परियोजना सञ्चालन गरिनेछ । दोस्रो चरणमा प्रदेशका सबै जिल्लामा परियोजना विस्तार गरिने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले बताए । परियोजनाले दीर्घकालीन रूपमा मुलुकलाई आत्मनिर्भर बनाउन योगदान र्पुयाउने मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
गाई पालनका लागि प्रदेश ३ सरकारले पनि प्रादेशिक दुग्ध विकास बोर्ड विधेयक पारित गरिसकेको छ । बोर्ड गठन गर्न भने बाँकी छ । बोर्ड गठनपछि परियोजनाले गति लिने मुख्यमन्त्री पौडेलले बताए ।
यसैगरी कान्तिपुरमै साइकल सिटी सपना शिर्षकमा प्रशान्त मालीले लेखेको खबर पनि छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरलाई आफ्नो कार्यकालमा साइकल सिटी बनाएर छाड्ने योजना सुनाएका छन् ।
यसका लागि नेपाल साइकल सोसाइटी काठमाडौंसँग सम्झौता भएर डिजाइन तयार भइरहेको उनको भनाइ छ ।
‘साइकल लेन विकास गर्न यस आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याएका थियौं,’ उनले कान्तिपुरसँग भने, ‘बाटोमा पेन्टिङ गरेर साइकल लेन भनेर चिनाइनेछ ।’
पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेनको बनाउने महानगरको योजना छ ।
उपत्यकामा १ हजार ६ सय किमि सडक सञ्जाल छ । तर साइकल रुट अवस्था दयनीय छ । साइकल लेन मात्र नभई पैदलयात्रु सुरक्षित, सजिलै र साइकल पार्किङ सुविधा छैन ।
नेपालमा बर्से्नि झन्डै १ सय २५ अर्बको इन्धन आयात हुन्छ । साइकल प्रयोगलाई ल्याउन सकेमा इन्धनको खर्च अन्य विकास निर्माणमा प्रयोग गर्न सकिने मेयर महर्जनको भनाइ छ । भन्छन्, ‘साइकल लेनको वैशाख २० भित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्छ ।’
‘हरिसिद्धि, सुनाकोठी, भैंसेपाटी, खोकना,बुङ्मती बस्तीसमेत समावेश गरी काम भइरहेको छ,’ उनले भने ।
अहिले सहर धूवाँधूलोले कुरूप छ । साइकल लेन निर्माणले सुन्दरता बढाउने र वातावरण प्रदूषण कम गर्ने महानगरको विश्वास छ ।
अन्नपूर्ण पोस्ट्
–आजको अन्नपूर्ण पोस्ट्मा असिनाले तरकारी र फलफूलमा क्षति शिर्षकमा समाचार छापिएको छ ।
अत्यधिक असिनापानीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थानीयले लगाएको तरकारी र फलफूलमा क्षति पुगेको छ ।
बिहीबार बिहान पानीसँगै बराहक्षेत्र नगरपालिकाका वयरवन, चतरा , भन्डारीटार, चतराघाट, चावाचा, अर्चलेलगायत ठाउँमा अत्यधिक असिना परेको छ ।
नागरिक
आजको नागरिकमा भारतले दियो लगानी स्वीकृति शिर्षकमा समाचार प्रकाशित छ ।
विष्णु बेल्वासेले लेखेको समाचारमा अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि लगानी गर्न भारत सरकारले एसजेभिएन (सतलज विद्युत् निगम) लिमिटेडलाई स्वीकृति दिएको उल्लेख छ।
अरुण तेस्रोलाई भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको साझेदारीमा खोलिएको एसजेभिएनले निर्माण गर्न लागेको हो।
एसजेभिएनले नेपालमा अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न सहायक कम्पनी एसजेभिएन–अरुण तेस्रो खोलेको छ।
उक्त कम्पनीले ४ सय केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ। प्रसारण लाइन संखुवासभाको दिदिङदेखि धनुषाको ढल्केबर हँुदै नेपाल–भारतको सीमा बथनासम्म पुग्नेछ।
नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् अर्थ समितिको बैठकले प्रसारण लाइन निर्माण गर्न स्वीकृति दिएको हो।
बैठकको निर्णयबारे जानकारी दिनेक्रममा अर्थमन्त्री अरुण जेटलीले प्रसारण लाइन निर्माणका लागि स्वीकृति दिएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रसारण लाइन निर्माण गर्न १२ अर्ब ३६ करोड १३ लाख रुपैयाँ लाग्ने अनुमान छ। नौ सय मेगावाटको बहुप्रतीक्षित अरुण तेस्रो परियोजना निर्माणका क्रममा छ।
यसअघि भारतले आयोजना बनाउन ९२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिसकेको सतलज नेपालका आवासीय प्रतिनिधि हरिराम सुवेदीले बताए।





