काठमाडौँ – नेपालमा भएका पेट्रोलियम खानीको खोजी गर्न नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनले नेपालका विभिन्न जिल्लामा अन्वेषण गर्ने भएको छ।
०७२ चैतमा नेपाल र चीनबीच भएको पेट्रोलियम खानी अन्वेषण सम्बन्धी सम्झौता अनुसार चिनियाँ विज्ञ टोलीले सुर्खेत, पाल्पा र दैलेखमा पेट्रोलियम खानीको अन्वेषण गर्ने भएको हो।
नेपालमा पेट्रोलियम खानी अन्वेषण सम्बन्धी सम्झौता भएपनि कार्यान्वयनमा भने आएको थिएन । तर, विहीरबार बेइजिङमा नेपाल र चीनबीच भएको उक्त सम्झौता कार्यान्वनय गर्ने अर्को सम्झौता भएको छ।
उक्त सम्झौतामा अबको एक महिनाभित्र चइना जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउने बताइएको छ।
उक्त टोलीले पाल्पा, दैलेख, सुर्खेत पुगेर त्यहाँ रहेको पेट्रोलियम खानीको विस्तृत अध्ययन अनुसन्धान गर्नेछ।
यसअघि चिनियाँ टोलीले ०७३ वैशाख मा नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो। उक्त अध्ययनका अनुसार दैलेखको पादुका क्षेत्रमा कच्चा तेल छ भने काठमाडौंलगायत धेरै क्षेत्रमा प्राकृतिक ग्यास निस्किरहेको छ।
त्यस्तै दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिएको छ ।
चीनले गरेको प्रारम्भिक अध्ययनबाट उक्त क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भइसकेको छ।
गत मंसिरमा नेपाल आएको चिनियाँ वैज्ञानिकको टोलीले नेपालका विभिन्न क्षेत्रका चट्टानको नमूना संकलन गरेको लगेको थियो । यसका साथै नेपालका विभिन्न स्थानमा बेलाबेलामा प्राकृतिक ग्यास निस्किरहेका छन् ।