काठमाडौं–वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकार निजी क्षेत्रको सहकार्यमा जडिबुटीको विकास र व्यापार गर्न तयार रहेको बताएका छन्।
ठमेलमा शुक्रबारबाट सुरु भएको आठौँ नेपाली जडीबुटी मेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले निजी क्षेत्रको सहकार्यमै जडिबुटीको उत्पादनदेखि बजारीकरणसम्म गरिने बताए। गुणस्तरीय जडीबुटीको दिगो रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले जनाएको छ।
३ दिने मेलामा नेपालको हिमालदेखि तराईसम्म पाइने कृषि,जैविक उत्पादन र अन्य उत्पादनसँगै प्रविधि र गुणस्तरसम्बन्धी जडीबुटीको सचित्र जानकारी दिने ५० वटा आकर्षक कक्ष राखिएको संघका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए ।
उनका अनुसार मेलामा ‘गुणस्तरीय जडीबुटी दिगो बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नारासहित आयोजना गरिएको हो । मेलामा सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तरक्रिया समेत गरिदैछ ।
मेला आइतबारसम्म चल्नेछ ।
मेलामा ७ वटा कृषि र अन्य प्राकृतिक उत्पादन, १२ वटा प्रमाणीकरण गरिएका अग्र्यानिक उत्पादन, ५ वटा प्रविधि र गुणस्तरसम्बन्धी जानकारी दिने कक्ष घिमिरेले जानकारी दिए।
त्यस्तै १२ वटामा कस्मेटिक, स्पा र मसाजसम्बन्धी उत्पादन तथा जानकारी केन्द्र, ४ वटा आयुर्वेद तथा क्लिनिक रहेका छन्। उनका अनुसार ७ वटा सुगन्धित वनस्पतिसहितका विरुवा र फूलका स्टल र परम्परागत रूपमा जडिबुटीको सहायताले गरिने उपचार मेलाका मुख्य आकर्षण छ। मेलामा ४ वटा स्टल नेपाल बाहिरका उद्यमी र खरिदकर्ताका रहेको उनले बताए। जैविक विविधतामा नेपाल सम्पन्न मूलुक नेपालमा करिब ७ हजार प्रजातिका वनस्पति पाइन्छन्।





