हिउँ चितुवाको सर्वेक्षण गरिँदै

काठमाडौं– नेपालमा हिउँ चितुवाको गणना गरिने भएको छ। मार्च अन्तिम साता वा अप्रिलको पहिलो सातासम्म हिउँ चितुवाको राष्ट्रिय सर्वेक्षण शुरु गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागका अनुसार हिउँ चितुवाको गणनाका लागि आवश्यक पर्ने पूर्वाधार र अन्य व्यवस्थापकीय कार्यको तयारी अन्तिम चरणमा पुगेको छ। ‘मार्चकै अन्तिममा वा अप्रिलमै भन्ने यकिन भइसकेको छैन,’ विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘हामी यस विषयमा छलफलमा छौँ तर, यी मध्ये एक मितिमा चाँही पक्कै गणना शुरु हुन्छ।’

हिउँ चितुवाको गणनाका लागि तयारीको प्रयास शुरु भएको विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बताए। ‘हिमाली क्षेत्रमा गणना गर्नु तराई या पहाडको जस्तो सजिलो छैन, गाह्रो छ,’ उनले भने, ‘खानपान, लजिष्टिकको व्यवस्था मिलाउनुपर्छ, घर गोठ त्यही नभएकाले टेण्ट सुरक्षित ठाउँ खोजेर हाल्नुपर्छ।’ उनका अनुसार स्थानीय मानिसको सहयोगमा काम गर्नुपर्ने भएकाले सबै चाजोपाँजो मिलाउनुपर्छ।

हिउँ चितुवाको गणना यसको दिसाको माध्यमबाट र क्यामेरा ट्रयापबाट गरिन लागिएको उपमहानिर्देशक भट्टरार्ई बताउँछन्। हिउँ चितुवा आईयुसिएनको रातो सूचीमा परेको जनावर हो ।

करीब ६ –७ महिना लगाएर गरिने गणनाका लागि करिब १ करोड छुट्टाइएको महानिर्देशक खड्काले जानकारी दिए। विभागले डब्लुडब्लुएफ नेपाल, जेडएसएल र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को सहयोगमा गर्ने गणनामा पूर्व,मध्य र पश्चिम गरी ३ क्षेत्रमा केन्द्रित रहने महानिर्देशक खड्का बताउँछन्।

जसअनुसार पूर्वमा कञ्चनजंघा संरक्षण क्षेत्रदेखि मकालु बरुण राष्ट्रिय निकुञ्ज र गौरीशंकर संरक्षण क्षेत्रसम्म, मध्यमा अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्रहुँदै लाङटाङ राष्ट्रिय निकुञ्जसम्म तथा पश्चिममा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष र डोल्पा जिल्लाका क्षेत्रमा गणना गरिने विभागले जनाएको छ।

गणनापछि फोटो डाटा लिने, एनालाइसिस गर्ने, दिसा ल्यावमा ल्याएर टेल्ली गर्ने, स्याप्लीङ गरी तुलना गर्ने विभागले जनाएको छ। विभागका महानिर्देशक खड्काका अनुसार यसपाली ८ वटा हिउँ चितुवामा रेडियो कर्लर जडान गरिँदैछ। ‘कञ्चनजंघामा ४ वटामा जडान भइसक्यो अब ४ वटा अन्नपूर्णमा र ४ वटा पश्चिममा जडान गरिदैछ,’ उनले भने।

उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार घाँटीमा रेडियो कलर जडान गरिएको हुन्छ, यन्त्र, फिर्ता हुन्छ त्यहाँ भएको डिभाइसको माध्यमबाट ट्रयाकिङ गरी सेटलाइट मार्फत जिपिएस म्याप देखाउँछ । यसले हिउँचितुवाको अवस्था , खाने बस्ने , बास्थान , कति दुरी सम्म पुग्छ भन्ने देखाउँछ।

विश्वमा नेपालसहित भारत, पाकिस्तान, भुटान, चीन, अफगानिस्तान, काजकस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, मंगोलिया र रुस गरी १२ देशमा हिउँ चितुवा पाइन्छ। ती देशका ३ हजारदेखि ४ हजार ५ सय मिटर उचाइँमा रहेका उच्च हिमाली क्षेत्रमा हिमचितुवा पाइने विज्ञहरु बताउँछन्। नेपालमा ३० वर्ग किलोमिटर क्षेत्रमा ३ सयदेखि ५ सयसम्म हिउँ चितुवा रहेको अनुमान छ। चीनमा संसारमा सबैभन्दा बढी २ हजारदेखि २ हजार पाँच सय सम्म हिमचितुवा रहेको अनुमान छ।

हिउँ चितुवाहरू निकै नै गोप्य जीवन बिताउँने प्राणीमा पर्छन्। उनीहरूलाई हिमाली क्षेत्रका वनजङ्गलमा देख्न पनि गाह्रो हुन्छ। विश्वमा ठ्याक्कै यति संख्यामा हिउँ चितुवा छन् भन्ने यकिन तथ्यांक छैन। सन् २०१६ मा हिउँ चितुवा पाइने १२ देशहरूबाट प्राप्त जानकारीका आधारमा ४ हजार ६ सय ७८ देखी ८ हजार ७ सय ४५ वटा हिउँ चितुवा रहेको अनुमान गरिएको छ।

पछिल्लो समय जलवायु परिवर्तन, मानिस र वन्यजन्तूवीचको द्वन्द्व, हिउँचितुवाको छाला र अङ्गहरूका लागि गरिने शिकार, विभिन्न खानीका कारण बासस्थान मासिने खतरा र ती क्षेत्रमा हुने जलविद्युत आयोजनाहरूको पूर्वाधारको निर्माणले हिउँ चितुवाहरूमा प्रत्यक्ष प्रभाव पारेको उपमहानिर्देशक भट्टराई बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार