तम्घास–गएरातिदेखि परेको वर्षाका कारण गुल्मीको रेसुङ्गा, मदाने, सत्यवतीलगायतका क्षेत्रमा हिमपात भएको छ। हिमपात र वर्षाका कारण बुधबार बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ। जिल्ला सदरमुकाम तम्घासलगायतका उच्च भू–भागमा निकै चिसो समेत बढेको छ।
लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सवारी साधन कमै मात्रमा सञ्चालन भएका छन् । वर्षासँगै ग्रामीण सडकमा हिलो थुप्रिएका कारण सवारी साधन सञ्चालनमा समस्या भएको हो । सरकारी कार्यालयमा सेवा लिनका लागि आउने सेवाग्राहीको सङ्ख्या बुधबार न्यून रहेको छ।
सदरमुकाम तम्घाससँगै जोडिएको रेसुङ्गा क्षेत्रअन्तर्गत पोखरी, यज्ञशाला, सिद्धस्थान, भ्यूटावरलगायतका क्षेत्रमा व्यापक हिमपात भएपछि सदरमुकाम तम्घासमा अत्यधिक चिसो बढेको छ ।
चिसोका कारण कतिपय विद्यालयमा पठनपाठन समेत प्रभावित बनेको छ । हिउँ र हिउँदे वर्षाले खेतबारीमा लगाएका बालीनाली सप्रिने र खेतीपाती समेत राम्रो हुने भएका कारण जिल्लाका कृषक खुशी भनेका छन् । गुल्मीमा यसवर्ष मात्र चौथो पटक हिमपात भएको हो। रासस