१२औँ प्राङ्गारिक कृषि मेला जावलाखेलमा हुने

काठमाडौं– ललितपुरको जावलाखेल फुटबल मैदानमा फागुन १६ देखि १९ गतेसम्म १२औँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७५ आयोजना हुने भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयसहितको आयोजनामा हुने प्राङ्गारिक कृषि मेला प्रदर्शनीमा प्राङ्गारिक उत्पादनसँग सम्बद्ध प्राङ्गारिक कृषि सामग्री आपूर्तिकर्ता, व्यापारी, उत्पादक कृषक, प्रशोधनकर्ता, विक्रीवितरक र सेवाप्रदायकको सहभागीता रहने जनाइएको छ।

प्राङ्गारिक कृषि प्रणाली अपनाउन व्यवसायिक कृषकहरुलाई प्रोत्साहित गर्ने, उपभोक्ताहरुलाई स्वस्थ्यकर प्राङ्गारिक कृषि उपज उपभोग गर्न प्रोत्साहित गर्ने, निर्यातयोग्य प्राङ्गारिक कृषि वस्तुको पहिचान र प्रवर्द्धनमा सहयोग पुर्‍याउने र दिगो कृषि विकासको लागि प्राङ्गारिक कृषि पद्धतिकाे आवश्यकताबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

मेलामा देशका विभिन्न भागमा उत्पादित प्राङ्गारिक कृषि उपजको प्रदर्शन एवं प्रतियोगिता, प्राङ्गारिक कृषि वस्तुको खरिद विक्री एवं व्यावसायिक बैठक, प्राङ्गारिक कृषि सामग्री तथा खेती प्रविधि सम्बन्धि प्रदर्शन, प्राङ्गारिक कृषि सूचना केन्द्र, प्राङ्गारिक कृषि बिषयमा साँस्कृतिक कार्यक्रम, प्राङ्गारिक खाद्य परिकार महोत्सव, माटो परिक्षण साथै बाली उपचार शिविर सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रत्येक विधाको लागि प्रथम, द्वितिय, तृतीय र सान्त्वना पुरस्कार दिइनेछ। ‘प्राङ्गारीक कृषि पद्धति अपनाऔं, माटो र जीवन बचाऔं’ नारा तय गरिएको मेलामा एक सय २५ स्टल रहने जनाइएकाे छ। मेलाको अवलोकन ५० हजारले गर्ने र २५ लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार