स्वच्छ वातावरण अभियन्तापछि ‘महिनावारी स्वच्छता दूत’ बने प्रियंका–आयुष्मान

काठमाडौं–खानेपानी मन्त्रालयले नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ।

मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमति अनुसार उनीहरूलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरिन्।

मन्त्री मगरले महिलाले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिइन्।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताए।

प्रियंका र आयुष्मानले महिलाहरूलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाए। पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन्। उनीहरुले ६ वटा महिलामैत्री शौचालय बनाउने र किशोरीहरुलाई स्यानिटेशन प्याड समेत प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्।

वन तथा वातावरण मन्त्रालयले यसअघि ७ फानुनमा प्रियंका र आयुष्मानलाई एक वर्षका लागि स्वच्छ वातावरण महाभियानको अभियन्ता नियुक्त गरिसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार