आयोजना बनेपछि धारामा पानी, मुहानको संरक्षण

डोटी–डोटी जिल्लाको बोगटान गाउँपालिका–१ सिमचौर इसुडा गाउँका स्थानीयले मुहानबाट निस्कने पानीको व्यवस्थापन गरेका छन्।

पहिला खेर जाने मुहानको पानी गाउँमा खानेपानी योजना सञ्चालन भएपछि स्थानीयको घरघरमा पानी पुगेको छ। गाउँमा खानेपानी आयोजना सञ्चालन हुँदा मुहानको संरक्षणसँगै गाउँमा पानीको समस्या पनि समाधान भएको छ।

२०७० सालमा खानेपानी योजना सञ्चालनपछि सबैको घरमा खानेपानीको धारा बनेको छ। अहिले घरमै पानी पुगेपछि यहाँका स्थानीयको दुःख पनि अन्त्य भयो।

‘पहिला धेरै ग्राहो थियो। बोकेर ल्याएको पानीले पुग्दैन थियो । एकदम फारु गरेर पुगाउनु पथ्र्याे,’ स्थानीय जयकला घर्ती मगरले भनिन्, ‘अहिले घरमै पानी पुगेपछि सजिलो भएको छ।’

खानेपानीका लागि ३० मिनेट बाटो हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको साडेपानी डेराहाली खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिलीपसिंह धामीले बताए।

स्थानीयले खानेपानीको सहजतापछि पानीको व्यवस्थापन गरी गाउँमा तरकारी उब्जाउन थालेका छन्। सरकारले खानेपानी सञ्चालनपछि तरकारी उब्जाउका लागि प्लास्टिकका टनेल दिएको थियो। त्यो टनेलको प्रयोग गरेर स्थानीयहरूले धेरै उत्पादन गरेका छन्।तर, बजार नपाउँदा आम्दानी राम्रो हुन नसकेको स्थानीय बताउँछन्। ‘१० क्विन्टल टमाटर उब्जाऊ गरेको हो मैले। तर, बजार व्यवस्थापन नहुँदा खेर गयो,’ अध्यक्ष धामीले भने।

इसुडा गाउँमा पानीका ठूला मुहान छैनन्। तर, भएका तीन वटा ससाना मुहानको पानी सङ्कलन गरी ३२ घरपरिवारका लागि व्यवस्थापन गरिएको छ।

पानी वितरणका लागि चार वटा मुख्य वितरण केन्द्र र छ वटा सहायक टेकिं बनाएर ३२ निजी र २ वटा सार्वजनिक धारामा पानी वितरण गरिएको छ। सडक निर्माणको कामले भने खानेपानी आयोजनालाई असर पुराएको अध्यक्ष धामी बताउँछन्।

उपभोक्ता समितिले मर्मत सम्भारका लागि पैसा सङ्कलन गर्ने गरेको छ। तर, समितिले सङ्कलन गरेको पैसाले बाटो बनाउँदा क्षति भएका संरचनाको पुन निर्माण गर्ने भने नसकिने अध्यक्ष धामी बताउँछन्।

नयाँ बाटो निर्माण गर्दा खानेपानीका संरचनामा क्षति भएमा संरचना निर्माण गरिदिने सहमति भए पनि कार्यान्वयनमा आउन सकेको छैन। ‘खानेपानीमा केही क्षति भएमा गर्दिन्छौ भन्ने कुरा भएको थियो तर, गरिदिएनन्,’  उनले भने। खानेपानी समितिले बिग्रिएको संरचना निर्माणमा स्थानीय तहबाट सहयोग मागेपनि सहयोग नभएको उनी बताउँछन्।

धामीले नेतृत्व गरेको खानेपानी आयोजना बोगटान गाउँपालिका भरीको नमुना खानेपानी हो। यो समितिका सबै धाराहरूको अवस्था चुस्त छ। व्यवस्थापन पनि राम्रो छ। यसको श्रेय स्थानीयहरू धामीलाई नै दिन्छन्। ‘सबै उहाँले गर्दा भयो। हामी प्रत्येक महिना बैठक बस्छौँ।लगानी कति कुन ठाउँमा के गर्नुपर्ने सब छलफल हुन्छ,’ स्थानीय दिलबहादुर पुनले भने।

अध्यक्ष धामीले टेकिं भरिएपछि खेर जाने पानीलाई पनि सदुपयोग गर्ने पोखरी बनाउन पहल थालेका छन्। यसका लागि वडा कार्यालयसँग बजेट माग गरेका छन्। यसका लागि गाउँपालिका पनि सकारात्मक भएको उनी बताउँछन्।

‘खेर जानी पानी जम्मा गरेर प्लास्टिक पोखरी निर्माण गरी तरकारी खेती गर्ने योजना त हो, तर,उत्पादन गरेको तरकारी खपत गर्ने ठाउँ नहुँदा पानी खेर गइरहेको छ,’बोगटान गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर घर्ती मगर।

पानी एपिसोड ५१ मा आधारित ।

ताजा समाचार

सम्बन्धित समाचार