काठमाडौँ – स्थानीयवासीले जोरपाटी–सुन्दरीजल सडक यथाशिघ्र कालोपत्र गर्न तीनै तहका सरकारसँग माग गरेका छन्।
तीन वर्षअघि रु ८४ करोडमा ठेक्का लागे पनि अझै कालोपत्र शुरु नभएपछि सात किमी लामो सडक जोरपाटी–सुन्दरीजल सडक दबाब समूहले तीनै तहका सरकारलाई हस्ताक्षर सङ्कलन गरी बुझाएको छ। हस्ताक्षर सङ्कलन आइतबार गोकर्णेश्वर नगरपालिकालाई बुझाइएको छ । खाल्डाखुल्डी र धुलोधुवाँका कारण सडकमा हिँड्न गाह्रो भएपछि समूहले हस्ताक्षरमार्फत दबाब दिएको हो।
नगरपालिकाका उपप्रमुख शान्ति नेपालले ठेक्का लागेको तीन वर्षसम्म काम नहुँनु दुःखद कुरा भएको बताए। छिटो सडक बनाउन निरन्तर सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको उनको भनाइ थियो। ठेक्काको केही रकम लिएका निर्माण व्यवसायीले काममा बेवास्ता गरेको दबाब समूहका संयोजक गोपाल श्रेष्ठले बताए। “पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हिँड्न सकिने अवस्था छैन,” उनले भने।
नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले सडक विस्तार नगरी तत्काललाई खाल्डाखुल्डी, धुवाँ र धुलो अन्त्य गर्न हाल भइरहेकै चौडाइमा कालोपत्र गर्ने गरी सङ्घीय सरकारसँग सहमति भएको बताए। हाल १४ मिटर चौडाइ रहेको सो सडक २२ मिटर बनाउँदा ८०० भन्दा बढी घर भत्काउनुपर्ने भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन्। रासस