राजापुर (बर्दिया)–तत्कालीन सशस्त्र द्वन्द्वमा सानो रोल्पाका रूपमा चिनिने बर्दिया जिल्लाको राजापुर टापु पछिल्लो समय सांस्कृतिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गइरहेको छ।

विस १९१४ सालमा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे स्वरूप सुगौली सन्धीबाट गुमेको भू–भागमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई विस १९१७ मा पुरस्कार स्वरूप नेपाललाई फिर्ता दिइएकाले बर्दिया जिल्लालाई नयाँ मुलुकको रूपमा पनि चिनिन्छ।
बर्दिया जिल्लाको पश्चिम क्षेत्रमा पर्ने यस ठाउँ कर्णाली नदी र कर्णाली नदी फुटेर बनेको गेरूवा नदीले चारैतिरबाट घेरिएको छ। राज्यको पुनर्संचरना हुनु अघि ११ गाउँ विकास समिति रहेको राजापुर टापुलाई स्थानीयले ‘भौराटप्पा’ भनेर पनि चिन्ने गर्दछन्। स्थानीय निकायलाई तहमा परीणत गरे पश्चात हाल २ वटा स्थानीय तहः राजापुर नगरपालिका र गेरूवा गाउँपालिकामा विभाजन भएको छ, राजापुर टापु।
करीब दुई लाख बढी जनसंख्यामध्ये थारू समुदायको बाहुल्यता रहेको राजापुर टापु अन्नको भण्डार पनि हो। वरीपरीबाट कर्णाली नदीले घेरिएको राजापुर टापुमा त्यतिखेर पुल नहुँदा पनि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीका लागि सुरक्षित स्थानका रूपमा रहेको ठानिन्थ्यो र, यो क्षेत्र द्वन्द्वको मारमा प-यो।
विगत जस्तो अवस्था अहिले नरहेको वडा नम्बर १ की गीता थारूले बताइन्। ‘पहिले त नयाँ मान्छे गाउँमा आयो भने डरले घरबाट बाहिर निस्किदैन्थ्यौं तर अहिले त हाम्रो गाउँघर आइदिउन् जस्तो लाग्छ,’ उनले भनिन्। अहिले जनकनगरमा होमस्टे पनि खुलेको छ। जहाँ पर्यटक आउने गर्छन। ‘नयाँनयाँ मानिस र विदेशी समेत आउँछन्। पहिलेभन्दा अहिले धेरै राम्रो छ, हामीलाई,’ उनले भनिन्।
परम्परागत पेशालाई यथावत राख्दै राजापुर क्षेत्रका थारू समुदायका व्यक्ति होमस्टे सञ्चालनमा लागेका छन्। जसबाट भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्नुका साथै आम्दानीको स्रोत समेत बनाइरहेका छन्।
गेरूवा गाउँपालिका–१ जनकनगरमा २ वर्ष अघिदेखि ११ वटा घरमा होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालन समितिका कोषाध्यक्ष निवेशकुमार वैद्यले बताए। ‘होमस्टेले घरमा बसीबसी आम्दानी हुने र आफ्नो भाषा तथा संस्कृतिको समेत संरक्षण हुन्छ,’ उनले भने, ‘अनुसन्धानका लागि बाहिरी मुलुकबाट आउने पर्यटकले यहाँ उत्पादन हुने अन्न,बाली खरिद गरेर समेत लैजाने गर्दछन्।’

राजापुर नगरपालिका वडा नम्बर १ बुर्गहवामा होमस्टे सञ्चालन भएपछि थारू संस्कृति झल्कने नृत्य प्रस्तुत गरिँदै।
गेरूवा गाउँपालिकामा होमस्टे सञ्चालन भएको दुई वर्षपछि राजापुर नगरपालिका वडा नम्बर १ मुर्गहवामा पनि पानीमै आश्रित रहने समुदाय सोनाहा र थारू समुदायको संयुक्त पहलमा थारू तथा सोनाहा होमस्टे गाउँ सञ्चालन गरेका छन्।
माछा मारेर, सुन चालेर जीविकोपार्जन गर्ने आफूहरुको समुदाय पछिल्लो समय वैकल्पिक पेशातर्फ पनि लाग्नुपर्छ भन्ने अभियानका साथ होमस्टे सञ्चालन गरेको सोनाहा विकास समितिका अध्यक्ष शान्ति सोनाहा बताउँछिन्। ‘पहिले राजापुर टापुमा आउने मानिस बास बस्नका लागि कि राजापुर बजार बस्नुपथ्र्यो कि त कैलालीको टीकापुर जाने गर्दर्थे तर आजभोलि हामी हाम्रो गाउँमा आएका पाहुनालाई घरमै सुताउँछौं,’ सोनाहाले भनिन्।

सशस्त्र द्वन्द्वका बेला नदी, खोला र तलाउमा समेत जान नसक्ने अवस्था थियो। स्थानीय दुःखराम सोनाहाले भने, ‘भारततर्फ पसेका मानिस शान्ति सम्झौता भएको वर्षौसम्म पनि गाउँ फर्कने बारेमा सोच्दैनथे तर, आजकल गाउँ फर्केर विभिन्न काममा लागिरहेका छन्।’
राजापुर क्षेत्रको विकासको महत्वपूर्ण कडिका रुपमा गेरुवापुललाई लिने गरिएको छ। बाँकेको सदमुकाम नेपालगञ्जबाट करीब ६० किलोमिटर पश्चिममा पर्ने कोठियाघाटस्थित गेरुवा नदीमा १ हजार १५ मिटर नेपालको सबैभन्दा लामो पक्की पुल बनेपछि विकासले गति लिन थालेको हो। २०७१ सालमा निर्माण सम्पन्न भइ सञ्चालनमा आएपनि नेपालको प्रमुख शहर मध्येको एक नेपालगञ्जसँगको सिधा सम्पर्क भएको त्यहाँका बासिन्दा बताउँछन्।
पुल बनेपछि त्यहाँको उत्पादन बेचबिखनका लागि तथा अन्य क्षेत्रका मानिस आउजाउ गर्न अत्यन्त सहज भएको छ। त्यहाँको उत्पादनले समेत राम्रो मूल्य पाइरहेको छ। ‘पहिले धान,गहुँ, मकै, तोरी, आलु सक्कु, बेचे राजापुर बजार लैजाइपर्ना अब टो घरेम किने आईठा बाबु मनै हुँके्र,’ (पहिले धान, गहुँ, मकै, तोरी, आलु सबै बेच्नको लागि राजापुर बजार जानुपथ्र्यो, अब त घरमै किन्न मानिसहरु आउने गर्छन् छोरी) गेरुवा गाउँपालिका वडा नम्बर ४ शान्तिपुरकी फूलरानी थारुले भनिन्, ‘अब टो पैसा फे धेउर मिलट, पहिले १० रुपेक एक किलो बेचे फे मुिस्कल अब टो ३० रुपेम् बेच्ठी।’ (अब त पैसा पनि धरै पाइन्छ। पहिले १० रुपैयाँ किलो आलु बेच्न पनि अप्ठ्यारो पर्दथ्यो तर, अहिले ३० रुपैंयाँ किलो आलु बेच्छम् ।)

राजापुर क्षेत्रलाई चिनाउने पुरानो र यस क्षेत्रको प्रमुख व्यापारिक स्थल राजापुर बजार पनि आफ्नो पुरानो साख फर्काउने दाउमा छ। द्वन्द्वका समयमा हिमाली तथा पहाडी जिल्लाबाट राजापुरमा हाट आउनेको संख्यामा शुन्यता छाएकोमा पछिल्लो समय मानिसको आउजाउ भैरहेको बर्दिया उद्योग वाणिज्य संघका सदस्य लक्ष्मीप्रसाद पौडेलको भनाइ छ।
द्वन्द्वका समयमा विद्यालय छोडेर मुग्लान पसेका, राजधानी हिँडेका र अन्य स्थानमा बसाइँ सरेका मानिस आफ्नै थातथलोमा आएर आफूहरूले सिकेका सीप, ज्ञान र ऊर्जा खर्चिरहेको कालिका माविका प्रधानाध्यापक वीरबल चौधरी बताउँछन्।
‘एकताका सुनसान भएको भौराटप्पा फेरि जुर्मुराउने प्रयासमा छ, निम्न मावि भएका विद्यालयमा उच्च तहको पढाइ हुन थालेको छ, गोरेटोबाटो पक्की बनेका छन्। मैले पढाउने विद्यार्थी मसँगै शिक्षक भएका छन्,’ उनले भने, ‘राजापुरटापुले विकासको गति लिएको छ, यसलाई निरन्तरता दिन सके अन्न उत्पादनको मात्रै नभइ पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिन्छ।’
अहिले प्रत्येक वडाका टोलटोलमा सरसफाइ समिति गठन गरी नियमित रूपमा आफ्नो गाउँ घर सरसफाइ अभियानमा समेत गाउँका मानिस अग्रसर रहेका छन्। थारु समुदायमा मुख्य व्यक्तिका रुपमा चिनिने बडघरले आ–आफ्ना गाउँघरमा सरसफाइ मात्रै होइन सामान्य विवाद सामुहिक रुपमा मिलाउने गरिरहेका छन्।
सञ्चारका क्षेत्रमा एउटा रेडियो स्टेशन र आधादर्जन पत्रपत्रिका सञ्चालनमा रहेका छन्। यहाँको अधिकाशं क्षेत्रमा विद्युत पुगेको छ। नपुगेका स्थानमा स्थानीय सरकारले पुर्याउने प्रयास गरिरहेका छन्।
तथापि सशस्त्र द्वन्द्वपछिको शान्ति सम्झौता, राज्य पुनर्संरचना, स्थानीय निर्वाचनका कारण पुरानै अवस्थामा फर्किरहेको राजापुर टापुका केही स्थानमा अझै पनि द्वन्द्वको स्थिति सेलाउन सकेको छैन। मानवीय होइन जंगली जनावरको आतंक र बाढी अनि नदी कटान।
कर्णाली, गेरुवा र बुढीखोलाका कारण वर्षायाममा नदी छेउका स्थानीय रातभरी निदाउन पाउँदैन भने दिनभरी बर्दिया राष्ट्रिय निकुञ्जका जंगली जनावरका कारण शान्तिसँग बस्न पाउँदैनन्। लगाएको अन्नबाली सबै जनावरले खाइदिने र क्षतिपूर्ण रकम अति न्यून पाइने हुँदा मारमा परेको गेरुवा गाउँपालिका वडा नम्बर ४ का स्थानीय कृष्णप्रसाद देवकोटा भन्छन्। त्यही क्षर्तिपूर्ति पनि ऐलानी जग्गावालाले पाउँदैनन्।

राजापुरटापुको जमिनमा खेती गर्न सके सुन फल्ने सुनौलो माटो छ। जुन त्यहाँको स्थानीय समुदाय र सरकारले प्रयोग गर्न सक्छ ,गरिरहेको पनि छ। द्वन्द्व पनि तंग्रिने प्रयासमा रहेको राजापुर टापुमा देखिएका समस्यालाई सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान गरी समाधान गर्न सक्ने हो भने नमूना क्षेत्रका रुपमा चिनाउन सकिन्छ।
जंगली जनावरको आंतक रोक्नका लागि बलिया तारजाली लगाउने, जोखिमयुक्त क्षेत्रमा तटबन्ध गर्ने र स्थानीय सोनाहा जातिको जीविकोपार्जनका लागि दीगो वैकल्पिक उपाय खोजी कार्यान्वयन गर्न सक्ने हो भने यहाँको आर्थिक, सामाजिक,सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ।

माछा मार्ने जाल बुन्दै सानाहा समुदायका एक व्यक्ति।





