काठमाडौं–विवादैविवादका कारण अल्झिएको ऐतिहासिक सम्पदा रानीपोखरीको पुनर्निर्माण तीन प्याकेजमा गरिने भएको छ।
१४ माघको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएसँगै नयाँ मोडालिटी (ढाँचा) मा पुनर्निर्माणका लागि गृहकार्य थालिएको छ।
प्राधिकरण, सम्पदा विभागका प्रमुख राजुमान मानन्धरका अनुसार ग्रन्थकुट शैलीमा निर्माण गरिने बालगोपालेश्वर मन्दिर, रानीपोखरी र रानीपोखरी परिसर छुट्टाछुट्टै प्याकेजमा निर्माण गरिने भएको हो।
‘मन्दिरको पुनर्निर्माण ‘ग्रन्थकुट’ अर्थात् प्रताप मल्लको पालामा निर्माण भए बमोजिम हुन्छ। रानीपोखरी पनि विज्ञ सम्मिलित समितिले गरेको सिफारिस अनुसार हुन्छ,’ मानन्धरले भने, ‘यसरी रानीपोखरी र मन्दिर परम्परागत शैलीमा बनाउन टेण्डरमार्फत् नहुने देखिएपछि ‘कालीगढ’ मार्फत् बनाउने योजनामा छौं।’ यद्यपि, रानीपोखरी परिसरमा शौन्दर्यकरण गर्नुपर्ने भएकाले त्यसका लागि टेण्डर हुने उनले बताए।
‘ग्रन्थकुट’ शैलीमा मन्दिरमा एक वा चारवटा प्रवेशद्वार हुन्छन्। हरेक प्रवेशद्वार अगाडि दुईवटा खम्बा हुन्छ। प्राधिकरणले सोही अनुसार पुनर्निर्माण गर्ने निर्णय गरिसकेकोमा ८ फागुनमा रानीपोखरी पुनर्निर्माणबारे थप निर्णय गरेको छ।
रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई
निर्णय अनुसार पोखरीमा पानी अड्याउन कालीमाटी र बालुवाको प्रयोग गरिने भएको छ। पोखरीको कालीमाटी रहेको तहमा थप एक फिट कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करीब दुई फिट बालुवा राख्ने,’ प्राधिकरणले निर्णयमा अगाडि भनेको छ, ‘पोखरीको डिलको सम्बन्धमा पुरानै माटोको आधार तयार गर्ने र तत्पश्चात वाल लगाउने।’
यसैगरी, यसअघि पुनर्निर्माणको क्रममा काठमाडौं महानगरपालिकाले बनाएको आरसीसीवाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तह अनुसार बनाइने भएको छ, भने पोखरीको डिलको माथिल्लो भागमा पेटी लगाइने छ। र, पोखरीमा पानी संचितीकरणका लागि मेलम्ची पाइपलाइनसँग जोड्न मिल्ने गरी संरचना बनाइने छ।
मानन्धरका अनुसार रानीपोखरीका लागि आवश्यक पर्ने कालीमाटी, बालुवाका सम्बन्धमा पनि अध्ययन भइरहेको छ। प्राधिकरणले शुक्रबार मात्र पुनर्निर्माणको क्रममा रहेको भक्तपुरको सिद्धपोखरीको अवलोकन गरेको थियो। ‘पहिलेदेखि नै सम्पदा बनाउँदै आएका कालीगढलाई प्रयोग गरेर पुनर्निर्माणको काम भइरहेको रहेछ, हामीले पनी सोही अनुसार जाने भनेका छौं,’ मानन्धरले भने, ‘लागत र अन्य विषयमा चाँडै नै टुंगो लगाएर पुनर्निर्माण थालिनेछ।’
यसअघि पुरातत्व विभागले मन्दिर र काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको काम गरिरहेकोमा ‘सम्पदा नास्ने गरी आधुनिक शैली’ अपनाइएको भन्दै तीव्र विरोध भएपछि २०७५ पहिलो साता महानगरपालिकाले वल्र्डवाइड कँडेल केजी केभीसँगको ६ करोड २९ लाखको ठेक्का रद्द गरेको थियो।
पछिल्लो समय महानगरपालिकाले रानीपोखरी फेरि आफैं पुनर्निर्माण गर्ने जमर्काे गरेपनि मन्त्रिपरिषद्ले खोसेर प्राधिकरणलाई दिएको हो, भने विभागले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ‘गुजम्ब’ शैलीमा एक करोड ५० लाख लागतमा पुनर्निर्माण गरिरहेकोमा ‘ग्रन्थकुट’ शैलीमा बनाउने गरी प्राधिकरणले दायित्व लिइसकेको छ।





