परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित चिसापानी सिमसार क्षेत्रलाई पर्यटकीय गनतव्यस्थल बनाउन पहल थालिएको छ । पूर्व पश्चिम राजमार्गको नजिकै रहेको उक्त क्षेत्रमा अहिले वनभोज खाने र एकान्तमा रमाउनेको भीड लाग्ने गरेको छ ।
चिसापानी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको उक्त सिमसार क्षेत्रले दुई बिघाभन्दा बढी क्षेत्रफल ओगटेको छ । यो क्षेत्र पर्यटकीय गन्तव्य बन्ने ठूलो सम्भावना भए पनि ओझेलमा छ ।
उक्त सिमसारको उचित संरक्षण हुन सकेको छैन भने सामान्य सफाइबाहेक यसमा लगानी पनि गरिएको छैन । उचित प्रसारप्रसार र सजावटको कमीले यो सिमसार क्षेत्र ओझेलमा परेको स्थानीयवासी बताउँछन् । साविक महेन्द्र राजमार्ग बनाउने बेलादेखि नै सिमसार क्षेत्रमा परिणत भएको यस स्थानको सामान्य संरक्षण विगत दुई वर्षदेखि मात्र गर्न थालिएको हो ।
तत्कालीन समयमा पूर्वपश्चिम राजमार्ग बनाउने क्रममा दायाँबायाँको माटो खनेर सडक पुरिएको थियो । त्यसपछि खनेको ठाउँमा कुनै बिरुवा उम्रन सकेन र पछि खाली जमीन दलदलमा परिणत भएको चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङ बताउछन् ।
उनी भन्छन् , “त्यस बेलादेखि नै यहाँ बिरुवा नउम्रेपछि खाली जग्गाको रूपमा रहेको थियो, चैत वैशाखको समयमा पनि यहाँ टेक्दा १५÷२० मिटरसम्म दलदल गरी जमीन थर्कने गरेको थियो, तसर्थ खेर गइरहेको जग्गालाई उपयोग गर्नुपर्दछ भनेर हामीहरुले संरक्षण गर्न पहल थालेका हौँ ।”
सामुदायिक वनले आफ्नै लगानीमा पानी रसाएको क्षेत्र सिमसारको सफाइ गरी पानी जम्ने पोखरी बनाएको छ । त्यहाँ वन्यजन्तु र चराचुरुङ्गीले पानी पिउने मात्र नभई गौचरन, चरिचरनमा पनि टेवा पुगेको छ । आगलागी निभाउन दमकललाई पानीको स्रोतको रुपमा पनि उपयोग हुने गरेको छ ।
पोखरीको पूर्वपट्टि एउटा र उत्तरतर्फ दुई ठाउँमा पनि त्यस्तै जमीन रहेको तर त्यसलाई सफाइ गर्न नसक्दा सिमसारको विस्तार हुन सकेको छैन । उक्त क्षेत्रको पनि उचित सफाइ गर्नसके ठूलो सिमसार क्षेत्र बन्ने सम्भावना रहेको समूहका अध्यक्ष गुरुङ बताउछन् ।
पोखरीमा पानी जम्मा भएपछि जस्तोसुकै खडेरीमा पनि त्यहाँ पानी नसुकेको स्थानीयवासीको भनाइ छ । गत दुई वर्षदेखि त्यस पोखरीको संरक्षणसँगै त्यसबाट आयआर्जनका काम पनि गरिएको सामुदायिक वनले जनाएको छ ।
पोखरीमा माछापालनका लागि दुई वर्ष वार्षिक रु डेढ लाखका दरले ठेक्कामा गएको थियो । विपन्न, गरीब, दलित, आदिवासी समुदाय गरी स्थानीय ५२ जनाको शेयर सदस्यको समूह बनाई संरक्षण गरिएको उक्त पोखरीको ठेक्काबाट आएको रकम लाभांशको रूपमा बाँडिएको थियो ।
अहिले उक्त पोखरीको माछालाई छेउछाउमा स–साना तीन वटा पोखरी बनाएर छाडिएको छ । एकान्त, हरियाली अनि रमणीय वातावरणमा अवस्थित चिसापानी सिमसार क्षेत्रमा नयाँ नयाँ प्रजातिका चराचुरुङ्गी देखिने गरेका छन् भने बँदेल, नीलगाई, जरायो, चित्तललगायतका वन्यजन्तुको वासस्थान र आगमन पनि बढी हुने गरेको समूहका अध्यक्ष गुरुङ बताउछन् ।
अध्यक्ष गुरुङका अनुसार यस मनोरमस्थलमा पर्यटक आकर्षण गर्ने र वन्यजन्तुलाई पनि असर नपर्ने गरी उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न उक्त सामुदायिक वनले योजना बनाएको छ । पोखरी वरपरको बाटोमा रेलिङ लगाउने र कालोपत्रे गर्ने, डुङ्गा शयरको व्यवस्था गर्ने, एकान्तमा रमाउन खोज्नेलाई यहाँ आएर केही समय बिताउनका लागि ‘कटेज’ बनाउने योजना बनाएर कार्यान्वयन गर्न लागेको छ ।
उक्त क्षेत्रमा वनभोजका लागि अहिले पनि सुविधा छ । सामुदायिक वनले वनभोजमा आउनेलाई मध्यनजर गरी बिजुली र पानीको साथै दाउराको व्यवस्था गरेको छ । त्यसको प्रयोग गरेबापत केही शुल्क समूहले लिने गरेको छ ।
सिमसार क्षेत्रमा स्थानीय तहदेखि सङ्घीय सरकारको पनि ध्यान जानु आवश्यक रहेको स्थानीयवासी एवं नेपाल पर्यटन पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायण भण्डारी बताउछन् । । “सरकारले समृद्ध नेपालको कुरा नारामा मात्र सीमित नगरी यस्ता क्षेत्रमा लगानी गर्नसके समृद्धि हासिल गर्न सहयोग पुग्छ, प्रचारप्रसारका लागि हामी सञ्चार क्षेत्र प्रतिबद्ध छौँ, तर राज्यको ध्यान जानुपर्छ ।” उनले भने ।
नगरपालिकाकाले नगरभित्रका यस्ता खालका पर्यटकीय क्षेत्रको पहिचान र विकास गरी पर्यटकीय नगरीको रुपमा विकस गर्ने लक्ष्य लिएको जनाएको छ । (रासस)
–––





