काठमाडौं –आजका दैनिक पत्रपत्रिकाले विकास निर्माण, खानेपानी समस्या,नदी दोहन लगायत वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापेका छन्।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा सरकारी आयोजनाबाटै नदी दोहन शिर्षकमा भूपेन्द्र वलीले दाङबाट समाचार लेखेका छन् ।
सरकारी आयोजनाको नाममा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइएको छ ।
जिल्लामा सरकारले सञ्चालनमा ल्याएका आयोजनाहरुले नै मनपरी उत्खनन गर्दै आएको पाइएको छ । देउखुरीको राप्ति नदीको कटान रोक्न सरकारले सञ्चालनमा ल्याएको तटबन्ध आयोजनाको नाममा अन्य ब्यक्तिहरुले समेत नदीको मनपरी उत्खनन गर्दै आएको पाइएको छ ।
हिउँमै खुल्न थाले मनाङका विद्यालय शिर्षकमा अर्को वातावरणीय पक्ष समेटिएको समाचार पनि नयाँ पत्रिकामा छ । शान्ता कमलीले लेखेको समाचारमा मनाङको तल्लो भेगमा अझै हिउँ रहेपनि विद्यालय खुलेको छ ।
१ फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनाङका विद्यालय खुल्न थालेका हुन् । चार गाउँपालिका रहेको मनाङको तल्लो क्षेत्रमा पर्नेे नासोँ गाउँपालिका र बीचको चामे गाउँपालिकाका विद्यालयले यसै साताबाट पठनपाठन थालेका हुन् ।
माथिल्लो भेगको मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने १६ फागुनपछि खुल्नेछन् । चामे र नासोँमा भने हिउँमाथि नै पढाइ सुरु भएको छ ।
विद्यालय खुलेसँगै जाडो छल्न काठमाडौं र पोखरालगायत सहर पुगेका अधिकांश विद्यार्थी फर्किएका छन् । विद्यालय खुलेसँगै भर्ना अभियान पनि सञ्चालन भएको शिक्षकहरूले बताए । वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न तल्लो भेग झरेका थिए ।
चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले हिमपातका बीच पठनपाठन सुरु गरिएको बताए । मनाङको तल्लो क्षेत्रको चामे, नासोँ गाउँपालिकाका १५ वटा विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख खुलानाथ गौतमले बताए ।
उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ वटा विद्यालयमा भने पठनपाठन सुरु भएको छैन । विद्यालयमा १६ फागुनबाट पठनपाठन सुरु हुनेछ । चामेस्थित लोकप्रिय माविमा भने २० माघदेखि नै पठनपाठन सुरु गरिएको प्रधानाध्यापक सुरेश थापाले बताए ।
नागरिक
–आजको नागरिकमा कानुन मिचेर धमाधम क्रसर उद्योग दर्ता शिर्षकमा लहानबाट मिथिलेश यादवले समाचार लेखेका छन् ।
देशैभरी सञ्चालनमा रहेका मापदण्डविपरितका क्रसरलाई मापदण्डमा ल्याउने वहस तेज भैरहेका बेला सिरहामा मापदण्ड मिचेर नयाँ क्रसर उद्योगलाई अनुमती दिएको खुलेको छ।
घरेलु तथा साना उद्योग कार्यालय लहानले कर्जन्हा नगरपालिका–७ मा कमलामाई क्रसर उद्योगलाई कानुन मिचेर नयाँ दर्ता दिएको पाइएको छ।
घरेलु तथा साना उद्योग कार्यालयको अभिलेख अनुसार फागुन ८ गत्ते कर्जन्हा नगरपालिका–७ मा कमलामाइ क्रसर उद्योग लाई दर्ता अनुमती दिइएको हो।
धनुषा र महोत्तरी जिल्लाका चारजना प्रोपराईटर रहेको यस उद्योगको दर्ता नम्बर १९३३ छ। प्रोपराइटरहरु जनकपुर उपमहानगरपालिका २ का रामबाबु साह, महोत्तरीका खलिल राईन, जनकपुर उपमाहानगरपालिका २ का रुबी साह र महोत्तरीका मो. इसराइल राइन हुन्।
कर्जन्हा नगरपालिकाले दिएको सिफारिस र आईईई रिपोर्टको आधारमा कमलामाई क्रसर उद्योगलाई दर्ता अनुमती दिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका निमिति प्रमुख लक्ष्मी पौडेलले बताए।
मैले त कानुन हेर्दै नहेरी पेश भएको फाइलमा संलग्न कागज हेरेर दर्ता अनुमती दिए पौडेलले भने। कानुनी रुपमा म फँसे उनले नागरिकसँग भने,ुकानुनले नगर्न भएको काम मैले गरिदिए। मैले ठूलो गल्ती गरेछुु उनले पटक पटक दोह¥याए। कानुनले नगरपालिका क्षेत्रमा क्रसर उद्योगलाई नयाँ दर्ता नदिन भनेको छ।
यसैगरी सिमानामा बाँध बनाउँदै भारत, १३ सय परिवार डुबानको जोखिममा शिर्षकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले समाचार लेखेका छन् ।
अन्नपूर्ण पोष्ट
आजको अन्नपूर्ण पोष्ट दैनिकले संखुवासभाको पाँचखपन नगरपालिकामा पानीको हाहाकार भएपछि पानीको मुहान खोज्दै जंगल हिँडेको टोलीको फोटोसहितको मुख्य समाचार प्रकाशित गरेको छ । यो खबरको शिर्षक पानी खोज्न जनप्रतिनिधि जंगल–जंगल दिइएको छ ।
अनिल विष्टले खाँदबारीबाट लेखेको समाचारमा टोलीको नेतृत्व मेयर विपिन राई आफैंले गरेको उल्लेख छ । पानीको मुहानहरु सुकेपछि पानीको समस्यालाई न्युनीकरण गर्ने उपाय खोज्दै मेयरसहितको टोली जंगल–जंगल पुगेको हो ।
अन्नपूर्णले मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदार कम्पनी सीएमसीलाई नै फर्काउने तयारी भइरहेको समाचारलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा संरक्षणप्रति चेतना जगाउन नाटक शिर्षकमा समाचार छापिएको छ ।
जंगल जाने बेलामा कस्तो रंगको कपडा नलगाउने ? सुरेश अधिकारीले हत्त न पत्त हात उठाएर जवाफ दिए ‘रातो रंगको लगाउनु हुँदैन ।’ जंगली जनावरहरूले कस्तो बेलामा आक्रमण गर्छ ?
यो प्रश्नमा अरुण पौडेलको उत्तर थियो ‘बच्चा साथमा भएका बेलामा पनि जंगली जनावरहरूले आक्रमणगर्न सक्छ ।’ हिमालयन मावि रत्ननगरका विद्यार्थी सुरेश र अरुणका जवाफ सही थिए र उनीहरूले पुरस्कार पनि पाए ।
संरक्षण, वन्जन्तु, वातावरणलगायतका विषयमा यस्ता प्रश्न अरू पनि थिए र मिलाउने विद्यार्थीले कापी कलम पुरस्कार पाएर रमाए ।
चितवन राष्ट्रिय निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान (सीबीएपीयू) ले महिना दिनअघि विद्यालयमा यसरी चेतना जगाउन सुरु गरेको थियो । हिमालयन माविको कार्यक्रम अन्तिम हो ।
सीबीएपीयूका अध्यक्ष डोमा पौडेलले संरक्षणको महत्त्व र जनावरको आनीबानीका बारेमा विद्यार्थीलाई जानकारी दिन हाजिरीजवाफ प्रभावकारी भएको बताइन् ।
हाजिरीजवाफमा निकुञ्जका साथै वन्यजन्तु र चरा, वन्यजन्तुका आनिबानी र बाँच्ने उपायहरू, मध्यवर्तीको अवधारणा, सिमसारको अर्थ र महत्त्व, जलवायु परिवर्तन र अन्य संरक्षित क्षेत्रसँग सम्बन्धित प्रश्नहरू सोधिएका थिए ।





