रुपन्देही–प्रदेश नं ५ सरकारले सडक सुरक्षा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रमुख न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए।
समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्य सचिव र प्रदेश नं ५ का प्रहरी प्रमुख सदस्य रहने गरी सो समिति गठन गरिएको हो ।
समितिले दुर्घटना न्यूनीकरणका लागि सडकको सुरक्षाको विषयमा अध्ययन, अनुसन्धान गरी सरकारलाई सुझाव पेश गर्नेछ। सडकको मापदण्ड, ट्राफिक नियमको पालना, सडक सुरक्षा लगायतका विषयमा सुझाव पेश गर्न समितिलाई दुई महिनाको समय दिइएको मन्त्री गिरीले जानकारी दिए।
सडक दुर्घटनामा परेर दाङका प्रदेश सांसद उत्तरकुमार वलीको गए राति मृत्यु भएसँगै मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको बताइएको छ। मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्य ओलीप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
यस्तै मन्त्रिपरिषद्को बैठकले दुई वटा पालिकाको केन्द्र परिर्वतनका लागि आएको प्रस्तावलाई सङ्घीय सरकारमा पेश गर्ने निर्णय गरेको छ। दाङको शान्ति नगर गाउँपालिकाको चिराघाटमा रहेको केन्द्र परिर्वतन गरी वडा नं ४ जुम्लेकुलामा सार्ने गरी प्रस्ताव आएको थियो। यसैगरी बाँकेको जानकी गाउँपालिकाको खजुराखुर्दमा रहेको केन्द्रलाई वडा नम्बर ३ स्थित बाबाकुटीमा सार्ने प्रस्ताव आएको थियो । दुइवटै प्रस्तावलाई सङ्घीय सरकारमा पठाउ स्वीकृति प्रदान गर्न निर्णय गरिएको मन्त्री गिरीले बताए।रासस