काठमाडौं–नेपाल विद्युत प्राधिकरणले सबस्टेशनको निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिएको छ।

विद्युत आपूर्तिलाई नियमित, भरपर्दो बनाउन भन्दै प्राधिकरणले चालु आर्थिक वर्ष ०७५-७६ मा ५५ सबस्टेशन बनाउने लक्ष्य लिएको छ, भने ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण गरिने भएको छ।
पछिलो तीन दिनमा मात्र पाँच वटा सबस्टेशनको उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार डडेल्धुराको स्याउलेमा निर्माण गरिएको सबस्टेशनको उद्घाटन गरेकाेमा बाँकी चारवटा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरे।
पुनले बुधबार कैलालीको हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सबस्टेशन तथा बिहीबार बर्दियाको भुरीगाउँ र दाङको हापुरेमा १३२/३३ केभी सबस्टेशनको उद्घाटन गरेका हुन्।
शुक्रबार सल्यानको सबस्टेशन उद्घाटनको कार्यक्रम छ। मन्त्री पुनले तीन वर्षभित्र हरेक नेपालीलाई विद्युतको पहुँचमा पुर्याउने दाबी गरे।





