काठमाडौं–कीर्तिपुरमा रहेको वायु गुणस्तर मापन केन्द्र १७ महिनादेखि ठप्प रहेको छ।
त्रिभुवन विश्व विद्यालय कीर्तिपुरको भौतिकशास्त्र विभाग नजिकै रहेको केन्द्रबाट २०७४ असोजमा ४ वटा ब्याट्री चोरी भएका थिए। तर, चोरी भएको १७ महिना बितिसक्दा पनि प्रहरीले फेला पार्न सकेको छैन। नयाँ मेसिन जडान गर्न वातावरण विभागलले सुरक्षाको कारण दर्शाएको छ।
जडान कार्य सुरक्षाको कारण देखाउँदै विभागले आलटाल गर्दै आएको छ। विभागले नयाँ ब्याट्री र युपिएस जडान गरी सञ्चालनमा ल्याउने तयारी गरेपनि सुरक्षाको जिम्मेवारी लिने कोही नपाउँदा नयाँ ब्याट्री र युपिएस जडान गर्न नसकिएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए।
त्रिविले सुरक्षा गार्ड बस्ने स्थान बनाउने तयारी पनि गरेको छ। अब नयाँ हाल्ने ब्याट्रीको सुरक्षाका निम्ति त्रिविमा कार्यरत सुरक्षा गार्ड कम्पनीलाई एक जनाको दैनिक पारिश्रमिकमा दिने बताए पनि कम्पनीले भने ३ जनाको पारिश्रमिक मागेको छ। पारिश्रमिकका विषयमा कुरा नमिल्दा विभागले सुरक्षा दिन सकिरहेको छैन।
विभागका महानिर्देशक अधिकारीका अनुसार धेरै रकम दिएर सुरक्षामा खटाउन पनि झन्झटिलो हुने देखिन्छ। ‘हामीले १ जनाका लागि पैसा दिने भनेका थियौँ, तर उनीहरुले ३ जनाको माग गरे,’ उनले भने, ‘कसरी ३ जनाको पैसा दिन सकिन्छ र। १ जनाको पैसा दिन त कति प्रकृया पुरा गर्नुपर्छ।’ उनले त्रिवि र वातावरण विभागबीच समन्वय गरेर मेसिनको सुरक्षाका लागि साझेदारी गर्नुपर्ने बताए।





